काठमाडौ, भदौ ५ – सरकाले कोरोना महामारी लगायत विभिन्न कारणले विदेशमा समस्यामा परेका नेपालीहरूको उद्धार पुनः सुरु गर्ने निर्णय गरेको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले दैनिक ३ चार्टर उडानमार्फत विदेशमा समस्यामा परेका नेपालीहरुको उद्धार गर्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण समेत गरेको उनले जानकारी दिए । उनले भने, ‘हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्नेछ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गर्नेछ । होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।’
विदेशबाट आएका यात्रुले पीसीर रिर्पोट ल्याए पनि ७ दिन क्वारेन्टिन बस्नुपर्ने निर्णय भएको ती मन्त्रीले बताए। पर्यटन मन्त्रालयको समन्वयमा विदेशबाट आएका यात्रुलाई बस्ने होटलको लिस्ट तयार गरिने उनले बताए ।
यसअघि सोमबार कोभिड-१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो । बैठक कोरोना रोकथामकै एजेण्डामा केन्द्रित भएको उनले बताए । प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा धेरै बोलेनन् । उनले सबै मन्त्रीहरुलाई आ-आफ्ना धारणाहरु राख्न समय दिएका थिए ।
बैठकले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुमार्फत घोषणा गरिएका निषेधाज्ञाको कार्यान्वयन र पालनाका लागि गृह प्रशासनलाई निर्देशन दिने निर्णय गरेको उनले बताए ।
यसैगरी बैठकले निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुखद निधन भएकोमा औपचारिकरुपमा श्रद्धाञ्जली अर्पण गरेको छ ।
FACEBOOK COMMENTS