असार ८ गते – नेपालका कोरोना भाइरस को कुल सङ्क्रमितको करिब ४ प्रतिशत बाग्मती प्रदेशका रहेका छन् । आरटी–पीसीआर परीक्षणबाट कोरोना सङ्क्रमण पुष्टि भएका आठ हजार ६०५ जनामध्ये बाग्मती प्रदेशका २९८ जना अर्थात् ३।४ प्रतिशतमा कोरोना पुष्टि भएको पाइएको हो ।
कोरोनाको उपचारपछि देशभर निको भएका एक हजार ५७८ जनामध्ये शनिबार साँझसम्ममा ५६ जना अर्थात् ३।५ प्रतिशत बाग्मती प्रदेशमा रहेको बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । देशभर उपचाररत सात हजार पाँच जनामध्ये बाग्मती प्रदेशमा २३८ अर्थात् ३।४ र कोरोनाका कारण देशभर मृत्यु हुने २२ जनामध्ये चार जना बाग्मती प्रदेशका रहेका छन् ।
शनिबार मात्र काठमाडौँमा एक जना, धादिङमा छ जना, भक्तपुरमा सात जना र रामेछापमा तीन जना गरी बाग्मती प्रदेशमा थप १७ जनामा सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो । उहाँका अनुसार कोरोना पुष्टि भएका जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय, पालिका, स्वास्थ्य संस्था एवं अस्पतालमार्फत कोरोना सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको खोजी र पहिचानको कार्य सुरु गरिएको छ । बाग्मती प्रदेशको रसुवाबाहेकका सबै जिल्लामा कोरोना सङ्क्रमित भेटिएका छन् ।
बाग्मती प्रदेशमा हालसम्म १३ हजार ५२२ जनाको स्वाब पीसीआर विधिबाट परीक्षण गरिएकामा सबैभन्दा बढी धादिङमा १०२ जना, काठमाडौँमा ४१ र चितवनमा ४० जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ललितपुरमा पाँच जना, भक्तपुरमा १६ जना, सिन्धुलीमा सात, मकवानपुरमा १४, रामेछापमा २५, दोलखामा दुई, काभ्रेपलाञ्चोकमा छ र सिन्धुपाल्चोकमा २७ जनामा पीसीआर परीक्षणको नतिजा पोजेटिभ पाइएको मन्त्रालयले जनाएको छ । यसैबीच कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौँडास्थित प्रादेशिक प्रयोगशालामा हालसम्ममा छ हजार ५४ वटा स्वाब परीक्षणका लागि प्राप्त भएको छ ।
FACEBOOK COMMENTS