काठमाडौं,फागुन २७ – चीनको वुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) १ सय १० देशमा फैलिइसकेको छ । हाल सम्म विश्वभरी १ लाख १० हजार ७७ जना संक्रमित भएको अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।
कोरोनाकै कारण विश्वभर ३ हजार ८२१ जनाको मृत्यु भइसकेको छ । ६२ हजार ३ सय बढी मानिस कोरोना संक्रमणपछि निको भएका छन्, जुन कुल संक्रमणको ९४ प्रतिशत हो।
अहिले विश्वभर ४४ हजार बिरामी कोरोनाको उपचारमा छन्। छिमेकी मुलुक भारतमा अहिलेसम्म ४६ जनामा संक्रमण देखिएको छ। यसमध्ये ४ जना निको भएर घर फर्किसकेका छन्। कोरोनाका कारण भारतमा अहिलेसम्म मानवीय क्षति भएको छैन।
चीनमा सबैभन्दा धेरै ३ हजार १२० जनाको मृत्यु भएको छ भने, दोस्रोमा इटलीमा ३ सय ६६ जनाको ज्यान गएको छ। त्यस्तै इरानमा १९४, दक्षिण कोरियामा ५३, फ्रान्समा १९ र अमेरिकामा २२ जनाको मृत्यु भएको छ। स्पेनमा १७, जापानमा ७ बेलायत र नेदरल्याण्ड्स्मा ३–३ जनाको ज्यान गएको छ।
हाल चीनमा १९ हजार सो संक्रमणबाट सामान्य अवस्थामा आएका छन् । चीनमा ५ हजार १ सय ११ जना मात्रै जटिल अवस्थामा उपचार भइरहेको छ । कोराना संक्रमणबाट मृत्यु हुनेको संख्या हेर्दा १ हजारमा ५ देखि ४० जनासम्मको मृत्यु हुने गरेको पाइएको छ । कोरोनाबाट प्रभावित ५० प्रतिशत मानिस निको भएर घर फर्किएका छन् । विश्व स्वास्थ्य संगठनको तथ्यांक हेर्दा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेमा वृद्ध, मधुमेह, उच्च रक्तचाप, मुटु रोग लागेकाहरु धेरै छन् ।
विश्वभर फैलिएको सो भाइरसको विषयमा जोखिमभन्दा बढी सन्त्रास फैलिएको चिकित्सकहरु बताउँछन् । धेरै मानिसमा यो भाइरस लागेपछि निको हुँदैन भन्ने भ्रम पनि छ । तर, पछिल्लो तथ्यांक हेर्दा उपचारपछि घर फर्कनेको संख्या बढी रहेको पाइन्छ । कोरोनाबाट मुख्य प्रभावित चीनको हुवेई प्रान्तमा मात्रै ५८ हजार ६ सय २ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।
FACEBOOK COMMENTS