काठमाडौं,माघ २३- प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आफ्ना नेता विजयकुमार गच्छदारविरुद्ध सरकारको प्रभावमा आएर अख्तियारले मुद्दा चलाएको आरोप लगाउँदै बिहीबार संसद् बैठक अवरुद्ध गरेको छ ।
बिहीबार संसदको बैठक सुरुमै विशेष समय लिएर कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले राजनीतिक प्रतिशोधका आधारमा गच्छदारमाथि मुद्दा लगाएको आरोप लगाइन् ।
बैठक सुरु हुनासाथ नेत्री पुष्पा भुसालले गच्छदारसहित केही उच्चपदस्थ व्यक्तिलाई अख्तियारले प्रतिशोधका आधारमा मुद्दा चलाएको भन्दै संसद् अवरोध गर्ने जनाएकी थिइन् ।
कांग्रेस सांसदहरू उठेर उनको आग्रहलाई समर्थन गरेका थिए । अवरोध नगर्न आग्रह गर्दा पनि कांग्रेस सांसदहरू पछि नहटेपछि सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मात्र ललितानिवास प्रकरणमा गच्छदारसहित १ सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।
FACEBOOK COMMENTS