काठमाडौं, २९ माघ – देउखुरीको राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिकको उचित स्याहारसुसार गर्ने परिवारलाई सम्मान गरेको छ ।
राप्ती गाउँपालिकाले परिवारका ज्येष्ठ सदस्यको सम्मानपूर्ण व्यवहारकासाथ पालनपोषण गर्दै आएका ९ वडाका ६७ जना छाेराबुहारीलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरेकाे हाे ।
उनीहरुलाई गाउँपालिकाकाे आर्थिक वर्ष २०७७/२०७८ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार वडागत रुपमा टोल सुधार समिति, जनप्रतिनिधि तथा छरछिमेकीको सिफारिसका आधारमा छनौट गरिएकाे हाे ।
ज्येष्ठ नागरिक आमाबुबा, सासू-ससुरा वा अन्य ज्येष्ठ नागरिकको सम्मानमा घरका सदस्यहरुको भूमिकामा कमी नहोस् भनेर छोराबुहारीहरुलाई सम्मान गरिएको राप्ती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भयाे ।
राप्ती गाउँपालिकाले ज्येष्ठ नागरिककाे सम्मान, न्यानो कपडा वितरण तथा परिवारका ज्येष्ठ नागरिक सदस्यको उचित स्याहारसुसार गरेका परिवारलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ।
FACEBOOK COMMENTS