काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सरकारले कार्की आयोगको प्रतिवेदनमा सुरक्षा निकायका विषयमा उल्लेख भएका विषय कार्यान्वयनका लागि अर्को समिति गठन गरेको छ । बुधबार मन्त्रिपरिषद्को बैठकले गौरीबहादुर कार्की संयोजकत्वको आयोगले दिएको प्रतिवेदनमा सुरक्षा निकायका सम्बन्धमा गरिएका सिफारिस कार्यान्वयनबारे अध्ययन गर्न उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा समिति गठन गरेको हो ।
सरकारका प्रवक्ता सस्मित पोखरलेका उच्च अदालतका पूर्वन्यायाधीश प्रेमराज कार्कीको संयोजकत्वमा सशस्त्र प्रहरी बलका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक सुबोध अधिकारी र नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राई सदस्य रहेको समिति गठन गरिएको छ । सरकारले मन्त्रिपरिषद्को पहिलो बैठक चैत १३ मा राजनीतिक नेतृत्वका हकमा प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने र सुरक्षा निकायका हकमा प्रतिवेदन अध्ययन गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
२- युनाइटेड अरब इमिरेट्स (युएई) ले रमजानको अवसरमा १२८ नेपालीलाई आममाफी दिएको छ । परराष्ट्र मन्त्रालयले रमजानको शुभ अवसरमा युएईले १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा जानकारी दिएको छ । आममाफी पाएका नेपालीको पहिचान भने खुलाइएको छैन । मन्त्रालयले भनेको छ- ‘पवित्र रमजानको शुभ अवसरमा १२८ जना नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकार युनाइटेड अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ ।’
३- सरकारले पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २०६२/०६३ देखि ०८२/०८३ सम्म सार्वजनिक पद धारण गरेका प्रमुख राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति विवरण संकल प्रमाणीकरण तथा छानबिन गर्न सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन् ।

आयोगमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम पराजुली, पूर्वन्यायाधीश चण्डिराज ढकाल, पूर्व प्रहरी नायब निरीक्षक गणेश केसी र चार्टर एकाउन्टेन्ट प्रकाश लम्साल सदस्य रहेको प्रवक्ता पोखरेलले जानकारी दिए ।

४- नेपाली कांग्रेसले प्रतिनिधिसभामा र बाहिर रहेका दलहरूसँग वार्ता गर्न टोली गठन गरेको छ । बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सांसद अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता टोली गठन गरेको प्रवक्ता देवराज चालिसेले जानकारी दिएका हुन् । बैठकपछि निर्णय बारे जानकारी दिदै प्रवक्ता चालिसेले राजनीतिक दलहरूसँग संवाद, समन्वय गर्न पार्टीका तर्फबाट वार्ताको लागि पहल गर्न वरिष्ठ नेता अर्जुननरसिंह केसीको संयोजकत्वमा वार्ता सम्वाद समिति बनाएको बताएका हुन् ।

समितिलाई संसद भित्र वा बाहिर रहेका राष्ट्रिय मुद्दामा एकाकार गर्न सक्ने विविध क्षेत्रमा संवाद, छलफल गर्ने जिम्मेवारी दिइएको उनले बताए । काँग्रेसको कार्यसम्पादन समितिको बैठक विहिबार पनि बस्दैछ ।
५- परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान सम्बन्ध र सहयोगका विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै यस वर्ष दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठ मनाउने विषयमा पनि कुराकानी भएको मन्त्रालयले उल्लेख अग्रेको छ ।
६- चीनले इरानलाई कुनै पनि सैन्य सहयोग नगरेको स्पष्ट पार्दै अमेरिकाका आरोपहरू पूर्ण रूपमा असत्य भएको जनाएको छ । चीनको विदेश मन्त्रालयका प्रवक्ता जिन जियानले सञ्चारमाध्यममा आएका समाचारहरू मनगढन्ते रहेको बताएका छन् । चीनले हतियार निर्यातका विषयमा कडा नियम पालना गर्ने र कुनै पनि द्वन्द्वलाई प्रोत्साहन नगर्ने दाबी गरेको छ ।
अमेरिकाले चीनले इरानलाई क्षेप्यास्त्र वा हवाई सुरक्षा प्रणाली उपलब्ध गराउन सक्ने आशंका व्यक्त गरिरहेका बेला चीनको यस्तो प्रतिक्रिया आएको हो । यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै देश, विशेषगरी चीन, इरानलाई सैन्य सहयोग गरेको पाइएमा त्यस्ता देशमाथि ५० प्रतिशतसम्म आयात शुल्क लगाउने चेतावनी दिएका छन् । चीनले पनि यसमा कडा प्रतिक्रिया दिदै अमेरिकाले यस्ता आरोपका आधारमा शुल्क बढाएमा आफूले पनि प्रतिकारात्मक कदम चाल्ने चेतावनी दिएको छ ।
७- ख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव बैकुण्ठ अधिकारीसहित १६ जना र एक परामर्शदात्री कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रुपन्देहीको सम्मरीमाई गाउँपालिका–५ स्थित सिद्धनाथमा निर्माणाधीन शीतभण्डार परियोजनामा अनियमितता भएको उजुरीपछि गरिएको अनुसन्धानमा यस्तो तथ्य खुलेको आयोगले जनाएको छ।
आर्थिक वर्ष २०७६/७७ को बजेटअन्तर्गत शीतभण्डार निर्माणका लागि मन्त्रालय र स्थानीय सहकारीबीच करिब ५ करोड ४३ लाख रुपैयाँ लागतको सम्झौता भएको थियो। जसअनुसार ७५ प्रतिशत रकम मन्त्रालयले र २५ प्रतिशत रकम सहकारीले व्यहोर्ने व्यवस्था थियो। अनुसन्धानका क्रममा परामर्शदाता कम्पनी मेगा माइन्ड आर्किटेक्टस एण्ड स्ट्रकचर्स प्रालिले नै परियोजनाको विस्तृत प्रतिवेदन तयार पार्ने र मूल्याङ्कन गर्ने दुवै काम गरी अस्वाभाविक लागत अनुमान तयार पारेको पाइएको छ । उक्त प्रक्रिया सार्वजनिक खरिद ऐनविपरीत खुला प्रतिस्पर्धाबिनै गरिएको पनि आरोप लगाइएको छ ।
त्यसैगरी गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा करिब ७१ लाख रुपैयाँभन्दा बढी भुक्तानी गरिएको पाइएको आयोगले जनाएको छ । तर हाल उक्त शीतभण्डार अपूर्ण, जिर्ण र प्रयोगविहीन अवस्थामा रहेको छ । आयोगले परियोजनामा संलग्न व्यक्तिहरूले बदनियतपूर्वक आर्थिक हिनामिना गरेको ठहर गर्दै उनीहरूविरुद्ध कानुनी कारबाहीको मागसहित विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको जनाएको छ ।
८- बिस्का जात्राको अवसरमा प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष चौथोपटक बोडेका २९ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन् । भक्तपुरको बोडेमा २९ बर्षिय सुजनले जिब्रो छेडेका हुन् । सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए । विसं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बासँ श्रेष्ठले जिब्रो छेडाए ।
जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने बताएपछि पुनः बुद्धकृष्णले २०७९ सम्म जिब्रो छेडाएका थिए । जात्राको हालसम्मको प्रमाणअनुसार १३ जनाले १०९ वर्ष जिब्रो छेडाएको इतिहास रहेको छ । बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गरेका हुन् ।
९- सर्वोच्च अदालतले नेपाली कांग्रेस नेता दीपक खड्कालाई थुनामा राख्नुको कारण सोधेको छ । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले खड्कालाई थुनामा राख्नुको कारणसहित लिखित जवाफ समेत पेश गर्न भोलीसम्मको समय दिएको हो । सर्वोच्चले खड्कालाई राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले म्याद थप गरेको भन्ने कागज अप्रमाणित देखिएको र अदालतमा महान्यायाधिवक्ताको कार्यालयमार्फत पेश गरिएको उक्त पत्र आधिकारिक पुष्टि नभएकोले सो सम्बन्धी सम्पू्र्ण कागज विहिबार पेश गर्न आदेश दिएको हो । राजश्व अनुसन्धान विभागको अनुरोधमा ललितपुर जिल्ला अदालतले थुनामा राख्न म्याद थप गरेको हो भने त्यससम्बन्धी सबै मिसिल म्याद थप गर्दा तयार गरिएको पर्चासहितका कागजात पेश गर्न आदेश दिएको छ । खड्काको रिहाइका लागि उनकी पत्नी बिनिता थापाले बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् ।
१०- सरकारले थप चार देशका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । वैदेशिक रोजगार विभागले इजरायल, कुवेत, वहराइन र लेवनानको पुनः श्रम स्वीकृति खुलाएको जानकारी दिएको हो । मन्त्रालयको फागुन १७ गतेको निर्णय वमोजिम मध्य पूर्व तथा खाडी क्षेत्रमा देखिएको विष परिस्थितिलाई मध्यनजर गर्दै यी देशको श्रम स्वीकृति रोकिएको थियो । यस्तै नेपालीको अर्को श्रम गन्तव्य देश इराकको हकमा भने नेपाल सरकार मन्त्रिपरिषदको २०८२ पुस ११ गतेको निर्णय वमोजिम श्रम स्वीकृति प्रदान हुने पनि विभागले जनाएको छ । यसअघि साउदी अरेबिया, युएइ, कतार, ओमान, यम, जोर्डन र टर्कीको पुनः श्रम स्वीकृति सुचारु गरिसकिएको विभागले जनाएको छ ।
११- नेप्से आज बढेको छ । आज बुधबार नेप्से ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेर रोकिएको छ । आज ३४४ कम्पनिका २ करोड ६४ लाख ३८ हजार ५२१ कित्ता शेयर १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७९६ मा कारोबार भएको थियो । आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, रिज लाइन इनर्जी, सुर्यकुण्ड हाइड्रो, होटल फोरेस्ट इन, सिन्धु विकास बैंक र पाल्पा सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सुपर खुदीको शेयर ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबैभन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको शेयर ५.६१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी शिभम सिमेन्टको ५८ करोड ९ लाख बराबर कारोबार भएको छ भने रिनेशनल हाइड्रोको ५७ करोड ११ लाख बराबरको कारोबार भएको छ ।
१२- नेपाली काँग्रेसले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकालेका खड्कालाई सात दिने भित्र जवाफ दिन स्पष्टीकरण सोधेको हो । समितिका सभापति तारामान गुरुङका अनुसार कार्यवाहक सभापतिको हैसियतमा प्रेस विज्ञप्ति जारी गर्नु विधान विपरीत भएको भन्दै अनुसशासन समितिले सातदिने स्पष्टीकरण सोधेको छ ।
काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा पार्टीले क्रियाशील सदस्यता अध्यावधिक गर्ने निर्णय गरेको विरोधमा विज्ञप्ति जारी गरेका थिए । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।
१३- इरानले हालैको युद्धमा करिब २७० अर्ब डलर बराबरको क्षतिको दाबी गर्दै क्षतिपूर्ति माग गरेको छ । संयुक्त राष्ट्रसंघमा इरानका प्रतिनिधिले आक्रमणमा क्षेत्रीय देशहरूको समेत भूमिका रहेको आरोप लगाउँदै उनीहरूले पनि यसको मूल्य तिर्नुपर्ने बताएका छन् । इरान सरकारकी प्रवक्ता फातमेह मोहाजेरानीका अनुसार फागुन २८ देखि सुरु भएको युद्धपछि देशलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा करिब २७० अर्ब डलरको क्षति पुगेको छ।
उनले एक अन्तर्वार्तामा यस्तो जानकारी दिएकी हुन् । संयुक्त राष्ट्रसंघस्थित इरानी दूतले पाँच वटा क्षेत्रीय देशको भूमिबाट इरानमाथि आक्रमण भएको आरोप लगाएका छन् । त्यसैले ती देशहरूले पनि क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ छ । यसैबीच इरानले क्षतिपूर्ति उठाउन होर्मुज जलडमरूमध्यबाट आवतजावत गर्ने जहाजमा कर लगाउने प्रस्तावसमेत अघि सारेको छ । उता अमेरिकासँग सम्भावित वार्ताको तयारी पनि भइरहेको जनाइएको छ । तर क्षेत्रीय देशहरूको मध्यस्थताबीच पनि इरान आफ्नो अडानमा कडा देखिएको छ ।
१४- गण्डकी प्रदेशमा नेपाली कांग्रेस सांसद द्रोणकुमार कुँवरले पदबाट राजीनामा दिएका छन् । मन्त्री बन्ने दौडमा रहेका कुँवर मन्त्री बन्न नपाएपछि सांसद पदबाट नै राजीनामा दिएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आज मन्त्रिपरिषद पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्रीलाई नियुक्त गरेका थिए । कुँवरले आजै गण्डकी प्रदेशका समामुखलाई राजीनामा बुझाएका हुन् । कुँवर २०७९ मंसिर ४ को निर्वाचनमा बागलुङ-२ बाट प्रदेश सभा सांसदमा निर्वाचित भएका थिए ।
१५- अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले इरानसँग सम्बन्धित युद्धका कारण विश्व अर्थतन्त्रमा मन्दी आउन सक्ने चेतावनी दिएको छ । द्वन्द्व थप चर्किएर तेल आपूर्तिमा अवरोध भएमा विश्व अर्थतन्त्र गम्भीर जोखिममा पर्न सक्ने जनाएको छ । आइएमएफका अनुसार सबैभन्दा खराब अवस्थामा विश्व आर्थिक वृद्धिदर हालको ३. १ प्रतिशतबाट घटेर करिब २ प्रतिशतमा झर्न सक्नेछ । त्यस्तै कच्चा तेलको मूल्य सन् २०२६ मा औसत ११० डलर प्रति ब्यारेल र २०२७ मा १२५ डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोषले तीनवटा सम्भावित अवस्था सार्वजनिक गरेको छ ।
सकारात्मक अवस्थामा युद्ध छिट्टै अन्त्य भई सन् २०२६ को दोस्रो भागदेखि तेलको मूल्य सामान्य भई करिब ८२ डलर प्रति ब्यारेलमा झर्न सक्नेछ । मध्यम अवस्थामा युद्ध लम्बिँदा यस वर्ष तेलको मूल्य करिब १०० डलर प्रति ब्यारेल र २०२७ मा ७५ डलर हाराहारी रहन सक्नेछ । यस अवस्थामा विश्व आर्थिक वृद्धि २ दशमलव ५ प्रतिशतसम्म घट्न सक्ने जनाइएको छ । आइएमएफका मुख्य अर्थशास्त्री पियरे ओलिभियर गोरिन्शाले हालको अवस्थालाई हेर्दा प्रतिकूल अवस्था बढी सम्भावित देखिएको बताएका छन् ।
१६- गण्डकी प्रदेशको मन्त्रिपरिषद्को पुनर्गठन गरिएको छ । मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद्को पुनर्गठन गर्दै पुराना सबै मन्त्रीलाई हटाएर नयाँ आठ मन्त्री बनाएका हुन् । गण्डकीको नयाँ मन्त्रिमण्डलमा नेकपा एमाले र नेपाली कांग्रेसका ४-४ जना मन्त्री बनेका छन् । नयाँ मन्त्रीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको शपथ गराएका हुन् । मन्त्री बन्नेमा एमालेबाट गोविन्दबहादुर नेपाली, भीम कार्की, यशोदा रिमाल र लक्ष्मणबहादुर पाण्डे रहेका छन् भने कांग्रेसबाट नन्दु न्यौपाने, जित शेरचन, नम्डु गुरुङ र रेखा गुरुङ मन्त्री बनेका छन् । गण्डकीमा नेपाली काँग्रेस र एमालेको सरकार रहेको छ ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको २९ सयले बढेर तोलाको ३ लाख २ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको २ लाख ९९ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५५ रुपैयाँले बढेर ५२२० मा कारोबार भइरहेको छ । यसअघि मंगलबार चाँदी तोलाको ५०६५ मा कारोबार भएको थियो ।
१८- पिएसजी यस सिजनको च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । गएराती सम्पन्न क्वाटरफाइनलको दोस्रो लिगमा लिभरपुललाई २-० गोल अन्तरले पराजित गर्दै पिएसजी समग्रमा ४-० को जित हासिल गर्दै सेमिफाइनलमा पुगेको हो । यसअघि पहिलो लिगमा पनि पिएसजीले लिभरपुललाई २-० गोल अन्तरले नै अपराजित गरेको थियो । यस खेलमा पिएसजीका लागि दुवै गोल ओसमान डेम्बेलेले गरेका थिए ।
त्यस्तै अर्को क्वाटरफाइनलमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई समग्रमा ३-२ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ । त्यस्तै अर्को क्वाटरफाइनलको दोस्रो लिगमा एटलेटिको म्याड्रिडलाई २-१ गोल अन्तरले पराजित गरेपनि समग्रमा ३-२ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगबाट बाहिरिएको हो । यस खेलमा बार्सिलोनाका लागि लामीन यमल र फेरान टोरेजले एक एक गोल गरेका थिए भने एटलेटिको म्याड्रिडका एडेमोला लुकम्यानले एक गोल गरेका थिए । त्यस्तै यस खेलमा खेलको ७९औं मिनेटमा एरिक ग्रासियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । यसअघि क्वाटरफाइनलको पहिलो लिगमा एटलेटिको म्याड्रिडले बार्सिलोनालाई २-० गोल अन्तरले पराजित गरेको थियो । योसँगै एटलेटिको म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।
१९- चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ३२ रनले पराजित गरेको हो । चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो । कोलकोताका लागि रमनदीप सिंहले सर्बाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले सर्बाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१ र आयुष मात्रेले ३८ रन बनाएका थिए । यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यस्तै कोलकोताले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।
२०- ओमानको खाडीमा अमेरिकी युद्धपोतले इरानबाट निस्किरहेका दुई वटा तेल ट्यांकरलाई रोकेर फर्किन निर्देशन दिएको छ । ती ट्यांकरहरू इरानको चाबहार बन्दरगाहबाट बाहिरिएका थिए । समुद्रमै रहेको अमेरिकी युद्धपोतले रेडियोमार्फत सम्पर्क गरी दिशा परिवर्तन गर्न आदेश दिएको बताइएको छ । ती दुई ट्यांकर अमेरिकाको केन्द्रीय कमाण्डले यसअघि फर्किन भनेका ६ वटा व्यापारिक जहाजमध्येका थिए । त्यसपछि सबै जहाज ओमानको खाडीस्थित इरानी बन्दरगाहतर्फ फर्किएका छन् ।
अमेरिकी सेनाले हर्मुजको जलडमरूमलाई नाकाबन्दी गर्न १० हजारभन्दा बढी सेना र लगभग १२ नौसेना जहाजहरू तैनाथ गरेको छ । अमेरिकी केन्द्रीय कमाण्डका अनुसार, नाकाबन्दीको पहिलो २४ घण्टामा कुनै पनि जहाज जलडमरूम पार गर्न सकेका छैनन् । अमेरिकी सैन्य आदेशमा अगाडि बढिरहेका छ वटा व्यापारिक जहाजहरू फर्किएका थिए । यो कार्य इरानी बन्दरगाहहरूमा प्रवेश गर्ने वा बाहिर निस्कने सबै जहाजहरू जुनसुकै भए पनि सबैमा लागु हुने अमेरिकाले स्पष्ट गरेको छ । यद्यपि, केही मिडिया रिपोर्टहरूले इरानका चार जहाजहरू मंगलबार जलडमरूमबाट पार गर्न सक्षम भएको दाबी गरेका छन् ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्यतिर पुगेको दाबी गरेका छन् । एक अन्तर्वार्तामा उनले युद्ध लगभग सकिन लागेको संकेत दिएका हुन् । उनको भनाइले छिट्टै युद्धविराम वा शान्ति सम्झौताको सम्भावना बढेको संकेत गरेको छ । तर क्षेत्रीय तनाव भने अझै पूर्ण रूपमा कम भइसकेको छैन र आगामी वार्ता महत्वपूर्ण मानिएको छ । ट्रम्पले इरानमाथिको आक्रमणलाई उचित ठहर गर्दै अमेरिका कारबाही नगरेको भए इरानले परमाणु हतियार बनाइसक्ने दाबी पनि गरेका छन् । साथै, अमेरिका र इजरायलका आक्रमणले इरानलाई ठूलो क्षति पुगेको र पुनः उभिन करिब २० वर्ष लाग्न सक्ने उनको भनाइ छ ।