काठमाडौं, वैशाख १५ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले र्यापिड रेस्पोन्स टिम बनाएको छ । मन्त्रालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुहको आपूर्ति व्यवस्था सुचारु राख्न यस्तो टिम बनाएको हो ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा. नारायणप्रसाद रेग्मीले उपत्यकासहित देशभर चल्ने निषेधाज्ञाको समयमा हुन सक्ने समस्या समाधान गर्न कार्यदल गठन गरेको बताए ।
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा अत्यावश्यक वस्तुहरुको ढुवानी गर्ने सवारी साधानको आवतजावत नरोकिने बताएको छ । जसअनुसार, खाद्यान्न, पेट्रोलियम पदार्थ, तरकारी, दुध, खानेपानी लगायतका सामाग्री बोकेका ढुवानी साधान रोकिने छैनन् ।
यी साधनहरु अत्यावश्यक वस्तुको सूचीमा पर्ने भएकाले नरोकिने प्रशासन कार्यालयले बताएको छ । यसैगरी, औषधी र खाद्यान्न पसल सञ्चालन हुनेछन् ।
औषधी पसल दिनैभर पनि खोल्न सकिने व्यवस्था गरिएको छ भने साना किराना पसल विहान १० बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खोल्न मिल्ने छ। यसैगरी, ठूला डिपार्टमेन्टल स्टोर विहान १० बजेदेखि बेलुका ५ बजेसम्म खुल्ने बताइएको छ ।
FACEBOOK COMMENTS