काठमाडौं । नेपालमा जारी भएकामध्ये हालसम्मकै ठूलो आईपीओलाई धितोपत्र बोर्डले स्वीकृति दिएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क (निफ्रा) ले प्रस्ताव गरेको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्न बोडले शुक्रबार अन्तिम स्वीकृति दिएको हो । इन्फास्ट्रक्चर बैङ्कले मंसिर ८ गते मात्रै धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएको थियो । बोर्डले १ महिनामै सबै प्रक्रिया पूरा गरेर बैङ्कलाई यस्तो अनुमति दिएको हो ।
२० अर्ब जारी पुँजी रहेको इन्फ्रास्ट्रक्चर बैङ्कसँग हाल १२ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी छ । उक्त चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन निफ्राले ८ अर्बको आईपीओ निष्कासन गर्न लागेको हो । यसो हुँदा बैङ्कको चुक्ता पुँजीको ४० प्रतिशत पुँजी साधारण सेयरबाट जुट्नेछ ।
नेपाल राष्ट्र बैङ्कको नियमानुसार बैङ्क तथा वित्तीय संस्थाले चुक्ता पुँजीको कम्तीमा ३० प्रतिशत आईपीओ जारी गर्नैपर्ने व्यवस्था गरेको छ । उता, कम्पनी ऐनले बढीमा ४९ प्रतिशत सेयर जारी गर्न पाउने व्यवस्था गरेकोमा बैङ्क तथा वित्तीय संस्थाले ३० देखि ४९ प्रतिशतसम्म आईपीओ जारी गर्न पाउँछन् । निफ्राले ४० प्रतिशत आईपीओ जारी गर्न लागेको हो ।
हाल पूर्ण रुपमा सरकारी स्वामित्वको संस्था बाहेक राष्ट्र बैङ्कबाट अनुमति प्राप्त गरेका सबै बैङ्क तथा वित्तीय संस्थाले आईपीओ जारी गर्नै पर्ने व्यवस्था छ । आईपीओ जारी नगरिकन बैङ्क तथा वित्तीय संस्थाले सेयरधनीहरुलाई लाभांश बाँड्न पाउँदैन । यो आईपीओ आएपछि बैङ्कलाई लाभांश वितरण गर्ने बाटो खुला हुनेछ ।
FACEBOOK COMMENTS