काठमाडौ, मंसिर ३ं– विश्वकप छनोटको दोस्रो चरणअन्तर्गत कुवेतसँगको खेलमा नेपाल पराजित भएको छ। भुटानको राजधानी थिम्पुस्थित चाग्लिमिथाङ रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग १–० ले पराजित भएको हो।
कुवेतलाई जिताउने क्रममा २८ औं मिनेटमा एल मुटवाले गोल गरेका थिए । खेल अवधिभर निकै राम्रो प्रर्दशन गरेपनि नेपालले गोल भने फर्काउन सकेन ।
कुवेतविरुद्ध मुख्य चार जना खेलाडीलाई बर्खास्त गरेर भुटान पुगेको नेपालले ४१ औं मिनेटमा निकै राम्रो मौका पाएको थियो । तेज तामाङको कर्नरबाट आएको बललाई रोहित चन्दले प्रहार गरेका थिए । तर त्यो प्रहार पोलमा लागेर फर्कियो । त्यसपछि तेजले नै प्रहार गर्दा पोष्टमाथिबाट बाहिरियो । जसका कारण नेपालले पहिलो हाफमा एक गोलले पछि पर्न गयो ।
पहिलो हाफमा एक गोलले पछि परेको नेपालले दोस्रो हाफमा पनि खासै राम्रो खेल्न सकेन । त्यसको विपरीत कुवेतले ७८ औं मिनेटमा अर्को अवसर पाएको थियो । जसलाई किरण चेम्जोङले मुस्किलले बचाए । ८८ औं मिनेटमा कुवेतले अर्को गोलको अवसर सिर्जना गरेको थियो । जसमा उसका अल सलमानले गरेको हेडको प्रयास पोष्ट नजिकैबाट बाहिरीयो ।
नेपालमा हुने भनिएको उक्त खेल दशरथ रंगशाला पुनर्निमाणको काम नसकिएपछि भुटानमा गरिएको हो।
FACEBOOK COMMENTS