काठमाडौँ – पछिल्लो समय स्वदेशी उत्पादनप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दो छ ।
यसको पछिल्लो उदाहरण हो जुत्ता तथा छालाजन्य वस्तुको उत्पादन र उपभोेग । जुत्ता, चप्पल तथा छालाजन्य वस्तुमा नेपाल क्रमशः आत्मनिर्भर बन्दै गएको छ । ‘फुट वेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपाल’का अनुसार अहिले जुत्तामा नेपाल ६० प्रतिशत आत्मनिर्भर भइसकेको छ ।
विसं २०५८ को जनगणनाअनुसार एक जना व्यक्तिले वर्षमा दुई दशमलव ६६ जोर जुत्ता प्रयोग गर्छ । यसरी हेर्दा वार्षिक आठ देखि १० करोड जोर जुत्ता आवश्यक पर्छ । गत वर्ष झण्डै साढे चार करोड जुत्ता आयात भएको थियो भने नेपालमा उत्पादित एक करोड २८ जोर जुत्ता निर्यात भएको थियो । यो सङ्ख्यालाई हेर्ने हो भने लगभग पाँच करोड जोर जुत्ता नेपालमा उत्पादन भएको छ । यसले मागको झण्डै ६० प्रतिशत नेपाली उत्पादनले ओगटेको जनाउँछ ।
एशोसिएसनका अध्यक्ष कृष्णकुमार फुँयालले नेपालमा उत्पादित जुत्ता आन्तरिक तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि व्यावसायिकरुपमा लागिपरेको बताए । “हाम्रो पछिल्लो उत्पादन र उपभोगलाई हेर्दा क्रमशः आत्मनिर्भर बन्दै गएका छौँ, मागको ६० प्रतिशत धान्न सक्ने भएका छौ, यसले के सन्देश दिन्छ भने नेपाल जुत्तामा आत्मनिर्भर बन्दैछ ।”
उपभोक्ता, सरकार र सञ्चारमाध्यमको सहयोगले नै आफूहरुको सफलता मिलेको उहाँको भनाइ छ । उत्पादित जुत्तामध्ये कच्चा पदार्थको आयात र चुनौती बन्दै गएको छ । आधुनिक निर्माण सामग्री, आवश्यक दक्ष जनशक्ति र कच्चा पदार्थको अभावमा जुत्ता चप्पल व्यवसायले अपेक्षित प्रगति गर्न नसकेको उनले बताए ।
अध्यक्ष फुयाँलका अनुसार उत्पादनमा दक्ष जनशक्तिको अभावसँगै कच्चा पदार्थको अभावमा धेरैमात्रामा पूँजी खर्चनुपर्ने बाध्यता छ । अहिले ६५ देखि ७० प्रतिशत कच्चा पदार्थ आयात गरिरहेका छौँ ।
देशमा सबैभन्दा धेरै रोजगारी प्रदान गर्ने सम्भावनाको क्षेत्र भए पनि यसमा उचित लगानी र जनशक्तिको अभाव छ । नेपालमा अहिले जुत्ता, चप्पलसम्बन्धी एक हजार ५०० भन्दाबढी उद्योग सञ्चालनमा छन् । जुत्ता चप्पलको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने सम्भावना बोकेको क्षेत्र भएकाले हामी त्यसतर्फ केन्द्रित भएको अध्यक्ष फुँयालको भनाइ छ ।
अहिले गोलस्टार, शिखर सुज, रोयललगायत स्थापित ‘ब्राण्ड’ का जुत्ता चप्पल उपभोक्ताले बढी रुचाएका छन् । करीब ३५ अर्ब लगानी भएको जुत्ता, चप्पल व्यवसायमा वार्षिक सोही रकम बराबरको कारोवार हुने गरेको छ ।
नेपाली छालाजन्य वस्तुको उत्पादनबारे जानकारी गराउने उद्देश्यले यही पुस १३ देखि १९ गतेसम्म जुत्ता, चप्पल तथा छालाजन्य वस्तुको १५ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी गरिएको छ ।
भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आयोजित सो प्रदर्शनीमा एक लाख ५० हजारले अवलोकन गरेको आयोजकले जनाएको छ ।
FACEBOOK COMMENTS