काठमाडौं- नेपाल गुणस्तर तथा नापतौल विभागले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि १६ उद्योगको सामान उत्पादन तथा विक्री वितरण बन्द गरेको छ ।
आर्थिक वर्ष २०७४/७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा विक्री वितरण बन्द गरेको हो ।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार विक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन् । विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ ।
विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा विक्री वितरण बन्द गरेको थियो भने ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो । विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो ।
आव २०७४/७५ मा इजाजतपत्र प्रमाणिकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए । आवेदन दिनेमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन् । रासस
FACEBOOK COMMENTS