काठमाडौं – चीन र संयुक्त राज्य अमेरिकाबीच तत्काल एक अर्काको सामानमा थप कर वृद्धि नगर्ने भएका छन ।
विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीच करवृद्धिका कारण उत्पन्न गतिरोधले व्यापार युद्धको खतरा बढाएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङले उक्त निर्णयमा सहमत जनाएका हुन ।
दुई राष्ट्रपतिबीच हाल एकअर्का मुलुकका सामानमाथि लागिआएका करहरुमा कुनै परिवर्तन गर्ने वा नगर्ने भन्ने बारेमा सहमति भने हुन सकेन ।
दुई नेताबीच अढाई घण्टाभन्दा बढी चलेको रात्रिभोज पश्चात् ह्वाइट हाउसले आगामी जनवरी १ देखि चिनीया सामानमा १० देखि २५ प्रतिशत करवृद्धि गर्ने घोषणालाई अहिले स्थगित गरिएको जनाएको छ ।
ह्वाइट हाउसले दुवै मुलुकबीच व्यापार सहजीकरणका सन्दर्भमा थप वार्ता गर्ने स्पष्ट गरेको छ । यो सहमतिले द्वन्द्वमा होमिएको विश्व बजारलाई केही शान्त बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।
ह्वाइट हाउसका अनुसार दुई नेताबीचको बैठक निकै नै सफल बैठक भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी जी–२० को बैठकमा सहभागी हुन अर्जे्न्टिनाको ब्युनस आयर्समा छन ।
चिनीया विदेशमन्त्री वाङ यीले भने, ‘यो सम्झौताले दुई मुलुकबीचको आर्थिक तनावलाई थप विस्तार गर्नबाट रोकेको छ र दुवैको जितका रुपमा यो सम्झौता भएको छ ।
FACEBOOK COMMENTS