काठमाडौ, श्रावण ३१ – सरकारले काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणका लागि विभिन्न गतिविधिमा १५ दिनसम्म रोक लगाउने निर्णय गरेको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा आज रातिदेखि भदौ १५ गतेसम्म लागि मानिस भेला हुने लगायतका कार्यक्रममा रोक लगाइएको हो ।
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रमुखहरूको संयुक्त बैठकले विभिन्न गतिविधिमा रोक लगाउने निर्णय गरेको हो काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालद्वारा जारी विज्ञप्तीमा खुल्ला स्थानमा मानिसको भेला हुनेदेखि पूजा पाठ हुने स्थान र होटेल रेस्टुराँमा मानिसहरु भेला हुन रोक लगाइएको उल्लेख गरिएको छ । प्रशासनका अनुसार खुल्ला स्थानमा मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न र सभा जुलुस गर्नका साथै जात्रा र महोत्सव गर्न रोक लगाइएको छ ।
त्यस्तै शैक्षिक संस्थाहरु सञ्चालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, संग्राहलय, चिडियाखाना संचालन गर्न पनि रोक लगाइएको छ । फुटपाथ, खुल्ला ठाउँ र ठेला गाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलनमा पनि प्रशासनले प्रतिबन्ध लगाएको छ ।
उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिक कामदारको ओसार पसार गर्न नपाइने भएको छ । त्यस्तै टेक वे बाहेक होटल रेस्टुराँ संचालन गर्न नपाइने प्रशासनको सूचनामा उल्लेख छ । निषेधाज्ञामा बन्देज गरिएका गतिविधि गरेमा कारबाही गरिने पनि काठमाडौं प्रशासनको चेतावनी छ ।