काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का केन्द्रीय सदस्य भक्त बहादुर हमालले महासंघको भावी नेतृत्व समावेशी, उत्तरदायी र परिणाममुखी हुनुपर्ने बताएका छन् ।
महासंघको आसन्न निर्वाचनका सन्दर्भमा आयोजित हेमराज ढकाल नेतृत्वको उम्मेदवारी घोषणा सभामा उनले ६०औँ वार्षिक साधारण सभाबाट चयन हुने नयाँ नेतृत्व महासंघको हित र उद्योगी–व्यवसायीका साझा सरोकारलाई केन्द्रमा राखेर अघि बढ्ने खालको हुनुपर्ने बताएका छन् ।
‘हाम्रो टिम केवल व्यक्तिहरूको समूह होइन, साझा सोच, साझा प्रतिबद्धता र साझा लक्ष्य बोकेको टिम हो,’ उनले भने, ‘महासंघलाई अझ सशक्त, उत्तरदायी र प्रभावकारी बनाउने हाम्रो उद्देश्य हो ।’ हमालका अनुसार पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र हिमालदेखि तराईसम्मका उद्योगी–व्यवसायीको प्रतिनिधित्व सुनिश्चित हुने गरी टिम निर्माण गरिएको छ । वस्तुगत संघतर्फ नरेश लाल श्रेष्ठको सक्रियता र योगदान उल्लेखनीय रहेको उनले बताए ।
महिला उपाध्यक्ष पदका लागि कमला श्रेष्ठलाई प्रस्ताव गरिएको जानकारी दिँदै हमालले विगत दुई दशकभन्दा बढी समयदेखि महासंघमा उनको सक्रिय भूमिका र महिला सशक्तीकरण अभियानमा गरेको योगदान प्रशंसनीय रहेको बताए ।
त्यसैगरी, वरिष्ठ उद्योगी हेमराज ढकालको मार्गदर्शन टिमका लागि मात्र नभई समग्र महासंघको नेतृत्वका लागि प्रेरणादायी हुने उनको विश्वास छ । व्यावसायिक समस्याको समाधानमा ढकाल सक्षम नेतृत्वका रूपमा प्रस्तुत हुने भन्दै उनलाई प्रस्तावित गरिएको हमालले स्पष्ट पारे ।

सभामा उपस्थित उद्योगी–व्यवसायी, सहकर्मी तथा सरोकारवालाप्रति धन्यवाद व्यक्त गर्दै हमालले महासंघभित्र विचार फरक हुनसक्ने भए पनि मतभेदलाई विभाजनको आधार नभई समृद्धिको बहसका रूपमा लिनुपर्ने धारणा व्यक्त गरेका छन् । ‘हाम्रो लक्ष्य प्रतिस्पर्धा होइन, सहकार्य हो,’ उनले भने, ‘हामी सबै मिलेर काम गरे मात्र उद्योग–व्यवसायका वर्तमान चुनौती सामना गर्न सक्छौँ ।’

महासंघले आगामी चैत २८ र २९ गते ६०औँ वार्षिक साधारणसभा आयोजना गर्दैछ । उक्त साधारणसभाले संघले भावी नेतृत्व चयन गर्ने छ ।

यी समाचारहरू पनि पढ्नुहोस्–

महिला उद्यमी सशक्तीकरणका लागि सौन्दर्यविद् कमला श्रेष्ठको उम्मेदवारी घोषणा
उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्ष पदका आकांक्षीहरूको चहलपहल तीव्र
FACEBOOK COMMENTS