काठमाडौँ, आश्विन २ – नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र उनको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेका थिए।
बिहीबार स्वाब संकलन गरी पीसिआर परीक्षण गर्दा आज बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा. आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।
तीन हप्ता अगाडि पनि उनको निवासमा कार्यरत कर्मचारी र देउवा परिवार सबैको पीसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो। दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।
सभापति देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल स्थगित भएको थियो। बुधबार सत्तारुढ दल नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलमा बिहीबारका लागि प्रमुख प्रतिपक्षी विपक्षी दलका नेता देउवासँगको भेट तय गरेको थियो। यस अघिका छलफलमा भागबण्डा नमिल्दा संवैधानिक परिषदको बैठक बस्न सकेको छैन्।
FACEBOOK COMMENTS