काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याइने भएको छ ।
यसबाट नदी तथा खोलामा मिसिने दूषित पानीको मात्रा घट्ने र वातावरणीय प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले धोबीखोला, गुह्येश्वरी र कोड्कुलगायतका क्षेत्रमा फोहोरपानी प्रशोधन केन्द्र निर्माण गरिरहेको छ ।
पूर्वाधार विकास मन्त्रालय, पीआईडी तथा एसियाली विकास बैङ्क (एडीबी)का प्रतिनिधिले गुह्येश्वरी र धोबीखोलामा निर्माण भएका प्रशोधन केन्द्रको संयुक्त अनुगमन तथा निरीक्षण गरे । गुहेश्वरी फोहरपानी प्रसोधन केन्द्र प्रतिदिन तीन करोड २५ लाख लिटर फोहर पानी प्रसोधन गर्न सक्ने क्षमताको निर्माण गरिएको जनाइएको छ ।
अनुगमन टोलीमा पूर्वाधार विकास सचिव विश्वबाबु पुडासैनी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठ, एडीबीका नेपाल देशीय सञ्चालन प्रमुख अर्नाउड हेकम्यान तथा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मालगायत सहभागी थिए । अनुगमन निरीक्षणका क्रममा सचिव पुडासैनीले निर्माण सम्पन्न भइसकेका प्रशोधन केन्द्रलाई यथाशीघ्र सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

उनले भने, “काठमाडौँका केही क्षेत्रमा निर्माण सम्पन्न भएका फोहोरपानी प्रशोधन केन्द्र अब चाँडै सञ्चालनमा ल्याउन आवश्यक छ ।” त्यसैगरी, पीआईडी प्रमुख इन्जिनियर रामकुमार श्रेष्ठले धोबीघाट र गुह्येश्वरीमा निर्माण गरिएका प्रशोधन केन्द्र सञ्चालनको अन्तिम तयारी भइरहेको जानकारी दिए ।
