काठमाडौं । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- सिंहदरबारस्थित सेन्ट्रल क्यान्टिनमा कुहिएको अण्डा र घुन लागेको दाल भेटिएको छ । शुक्रबार खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गरको संयुक्त अनुगमनका क्रममा सिंहदरबारको सेन्ट्रल क्यान्टिनमा घुन लागेको र कुहिएको दाल, कुहेको अण्डा पाइएको हो । निरीक्षणका क्रममा सरसफाइ सामान्य अवस्थामा रहेको भएपनि अनुगमनका क्रममा स्पष्ट रूपमा घुन लागेको करिब सत्र किलो चना दाल, ओसिएको करिब एघार किलो बदाम तथा केही भाग फुटेका चौध वटा अण्डा भेटिएको थियो ।
अनुगमन टोलीले ती घुन लागेको, ओसिएको तथा बिग्रिएका खाद्य वस्तु तत्काल नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागकी वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा. बालकुमारी शर्माका अनुसार खाद्य स्वच्छताका मापदण्ड पालना नगरी गुणस्तरहीन खाद्य पदार्थ भण्डारण तथा प्रयोगका लागि राखिएको पाइएकाले उपभोक्ता संरक्षण ऐन २०७५ को प्रावधान अनुसार सम्बन्धित क्यान्टिन संचालक जी एण्ड बी क्याफे ग्रुपलाई दुई लाख एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।
२- पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कैलालीको धनगढीस्थित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा स्पोर्ट्स भिलेज परियोजनाको स्थलगत अनुगमन तथा निरीक्षण गरेका छन् । परियोजनाको निर्माण कार्यलाई तीव्रता दिने उद्देश्यसहित उनले अनुगमन तथा निरिक्षण गरेको फाप्ला क्रिकेट पूर्वाधार विकास समितिका अध्यक्ष सुवास शाहीले जानकारी दिएका छन् । उनको स्थलगत उपस्थितिले फाप्ला परियोजनाको निर्माण प्रक्रियामा थप ऊर्जा, गति र विश्वास बढाएको सरोकारवालाले बताएका छन् ।
पर्यटन, खेलकुद र समग्र सुदूरपश्चिमको आर्थिक विकासमा दूरगामी प्रभाव पार्ने यस ‘गेम चेन्जर’ परियोजनालाई सफलतापूर्वक अगाडि बढाउने प्रतिबद्धता पनि मन्त्री लम्सालले व्यक्त गरेका छन् । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा फाप्लालाई ठेक्का प्रक्रियामा लैजानका लागि बजेट विनियोजन गरेको छ । धनगढी उपमहानगरपालिका–३ फप्लामा करिब दुई लाख ६० हजार ९१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तथा खेलग्राम परियोजनाका प्रारम्भिक तयारी पूरा भइसकेको छ । आयोजनाका लागि जग्गा प्राप्ति, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माण र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत भइसकेको छ ।

३- अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) आज अमेरिकी स्कट एक्सचेन्ज नास्ड्याकमा शेयर कारोबार हुने तयारीसँगै कम्पनीका संस्थापक एलन मस्कको कुल सम्पत्ति एक खर्ब अमेरिकी डलरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । हाल विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा रहेका मस्कको सम्पत्तिमा स्पेसएक्सको सार्वजनिक सेयर निष्कासनपछि ठूलो वृद्धि हुने अपेक्षा गरिएको छ । मस्कसँग कम्पनीको करिब आधा हिस्सा रहेको छ । कम्पनीको लक्ष्य मूल्याङ्कन १.७७ खर्ब अमेरिकी डलर पुगेमा उनको स्पेसएक्स हिस्साको मूल्य मात्रै करिब ८६७ अर्ब अमेरिकी डलर पुग्नेछ ।

यसका अतिरिक्त मस्कसँग विद्युतीय सवारी निर्माता टेस्लामा प्रमुख कार्यकारी अधिकृतका रूपमा प्राप्त करिब २७९ अर्ब अमेरिकी डलर बराबरको सेयर तथा विकल्प रहेको बताइएको छ । स्पेसएक्स र टेस्लामा रहेको हिस्साको आधारमा मात्रै मस्कको कुल सम्पत्ति १.११ खर्ब अमेरिकी डलरभन्दा बढी पुग्ने अनुमान गरिएको छ । यसमा मस्कको अन्य निजी कम्पनीहरू न्युरालिंक र र द बोरिंग कम्पनीमा रहेको स्वामित्व भने समावेश गरिएको छैन । यद्यपि मस्कको सम्पत्ति अधिकांश रूपमा कम्पनीहरूको सेयर मूल्यमा आधारित भएकाले यो नगद रकम नभई कागजी सम्पत्ति रहेको विश्लेषकहरूले बताएका छन् । भविष्यमा लगानीकर्ताले टेस्ला र स्पेसएक्सको मूल्यलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले उनको सम्पत्तिको आकार निर्धारण गर्नेछ । स्पेसएक्सले आज ५५ करोड ६० लाख सेयर सर्वसाधारणका लागि बिक्री गरेपछि पनि मस्कसँग कम्पनीको करिब आधाभन्दा कम हिस्सा रहनेछ । तर उनीसँग विशेष प्रकारका सेयर छन्, जसले कम्पनीमाथि अत्यधिक नियन्त्रण प्रदान गर्छ ।

मस्कले कम्पनीको करिब ८५ प्रतिशत मतदान अधिकार नियन्त्रण गर्ने भएकाले उनलाई पदबाट हटाउन वा सञ्चालक समितिले उनका निर्णय उल्ट्याउन लगभग असम्भव मानिन्छ । यस्तै प्रकारका विशेष अधिकारयुक्त सेयर संरचना मेटा र फोर्ड जस्ता कम्पनीहरूमा पनि संस्थापकहरूलाई दिइएको छ । मस्कले विगतमा टेस्लामा आफूले यस्तै स्तरको नियन्त्रण नपाएकोमा असन्तुष्टि व्यक्त गर्दै आएका छन् । उनले टेस्लामा थप मतदान अधिकार प्राप्त गर्न चाहेको र आफूले ‘कर्पोरेट आतंककारी’ भनेर उल्लेख गर्ने केही सेयरधनी समूहबाट कम्पनीलाई जोगाउन त्यसको आवश्यकता रहेको बताएका छन् ।
४- नेपाली कांग्रेसले केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानअन्तर्गत विभिन्न पाँच विषयगत उपसमितिका संयोजक चयन गरेको छ । प्रतिष्ठानको बैठकले प्रतिष्ठान प्रमुख शर्माको प्रस्तावमा विभिन्न नीतिगत तथा जनचासोका विषयमा केन्द्रित पाँच उपसमिति गठन गर्दै संयोजकहरूको जिम्मेवारी तोकेको हो । निर्णयअनुसार डायस्पोरा संवाद उपसमितिको संयोजकमा डा. यादव पण्डित चयन भएका छन् । उक्त उपसमितिले नागरिकता, लगानी र मतदान अधिकारलगायत विषयमा जनसम्पर्क समितिको औपचारिक संरचनाबाहिर रहेका विश्वभरका नेपाली समुदायसँग नीतिगत संवाद र समन्वय गर्नेछ ।
त्यस्तै स्वास्थ्य बिमा तथा स्वास्थ्य सेवामा पहुँचसम्बन्धी नीतिगत संवाद उपसमितिको संयोजकमा डा. अन्जनीकुमार झा चयन भएका छन् । त्यस्तै घरेलु तथा डिजिटल हिंसा सचेतना उपसमितिको संयोजकमा स्वीकृति पौडेललाई जिम्मेवारी दिइएको छ । त्यसैगरी सार्वजनिक यातायात तथा सडक सुरक्षा सचेतना उपसमितिको संयोजकमा श्रीप्रसाद भलामी चयन भएका छन् भने खेलकुद नीति संवाद उपसमितिको संयोजकमा विनोद दास चयन भएको नेपाली कांग्रेसले जनाएको छ । पार्टीले विभिन्न सामाजिक, आर्थिक तथा नीतिगत विषयमा अध्ययन, अनुसन्धान र बहसलाई प्रभावकारी बनाउन उपसमितिहरू गठन गरिएको जनाएको छ ।
५- काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुचाकोटमा जेठ २९ गते यात्रुवाहक बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी घाईते भएका १५ जनालाई उद्धार गरिएको छ भने ८ जनाको घटनास्थलमा मुत्यु भएको छ । बनेपाबाट रोशीको खाड्पाचोक जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई सडकबाट करीव ३ सय मिटर तल खसेको थियो । सो दुर्घटना लगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्धारका लागि खटिएको थियो । उद्धार पश्चात घाईतेहरुलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाईएको छ । मृत्यु हुनेमा ४ जना महिला र ४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
६- शिक्षा तथा खेलकुद मन्त्रालयले अध्ययन भिसा सिफारिसका लागि पेस गरिएका पत्र तथा कागजात नक्कली भएको विषयमा मन्त्रालयका कर्मचारीहरूको सम्भावित संलग्नता छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।
समितिलाई घटनासँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरूको भूमिका तथा जिम्मेवारीबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको मन्त्रालयले जनाएको छ । अध्ययन भिसा सिफारिस प्रक्रियामा कर्मचारीहरूको संलग्नता, कागजात प्रमाणीकरणको अवस्था तथा प्रक्रियागत कमजोरीबारे समेत समितिले अध्ययन गर्नेछ । मन्त्रालयका अनुसार वाल्मीकि विद्यापीठको नामबाट अध्ययन भिसा सिफारिसका सम्बन्धमा पेस गरिएका पत्र तथा कागजातहरू नक्कली रहेको देखिएपछि छानबिन प्रक्रिया अघि बढाइएको हो । सोही आधारमा मन्त्रालयले यसअघि सिफारिस गरिएका विदेशी नागरिकहरूको भिसासम्बन्धी थप प्रक्रिया अगाडि नबढाउन सम्बन्धित निकायलाई अनुरोध गरिसकेको छ ।
मन्त्रालयले अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको यस घटनालाई गम्भीर रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा थप प्रशासनिक तथा कानुनी निर्णय लिइने पनि स्पष्ट गरेको छ । यसअघि अध्ययन भिसा सिफारिस प्रक्रियामा शङ्कास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशङ्का देखिएपछि गृह मन्त्रालयलाई पत्राचार गरेको थियो । मन्त्रालयले उक्त घटनालाई अध्ययन भिसा प्रणालीको विश्वसनीयतासँग जोडिएको गम्भीर विषयका रूपमा लिँदै अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक प्रशासनिक तथा कानुनी निर्णय गरिने जनाएको छ ।
७- न्युजील्यान्डका पूर्वकप्तान केन विलियाम्सनले अन्तर्राष्ट्रिय क्रिकेटबाट तत्काल प्रभाव लागू हुने गरी संन्यासको घोषणा गरेका छन् । इङल्याण्डविरुद्ध जारी तीन टेस्ट सिरिजको बीचमै उनले १६ वर्ष लामो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई पूर्णविराम दिएका हुन् । ३५ वर्षीय विलियम्सनले सन् २०१० मा न्युजील्यान्डका लागि अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले लर्ड्समा भएको पहिलो टेस्टमा क्रमशः शून्य र १८ रन बनाएपछि ओभल र ट्रेन्ट ब्रिजमा हुने बाँकी दुई टेस्ट नखेल्ने निर्णय गरेका हुन् । विलियम्सन सन् २०२४ जुनयता न्युजील्यान्ड क्रिकेटको केन्द्रीय सम्झौतामा थिएनन् । करियरको अन्तिम चरणमा उनले विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा खेल्दै छनोट गरिएका अन्तर्राष्ट्रिय सिरिजमा मात्र सहभागी हुँदै आएका थिए । संन्यास घोषणा गर्दै विलियम्सनले अन्तर्राष्ट्रिय क्रिकेट छाड्ने विषयमा लामो समयदेखि सोचिरहेको बताए ।
उनले भने- ‘मैले यसबारे धेरै समयदेखि विचार गरिरहेको थिएँ । पछिल्ला केही दिनमा भने अहिले नै सही समय भएको महसुस भयो । अन्तर्राष्ट्रिय क्रिकेटप्रति मेरो लगाव र भोक सधैं बलियो रह्यो । न्युजिल्यान्डका लागि खेलेका प्रत्येक खेलमा मैले आफ्नो शतप्रतिशत दिएकोमा गर्व गर्छु । यस टोलीमा धेरै प्रतिभा छ र केही विशेष गर्ने दृढ इच्छा पनि छ । यति लामो समय यो टोलीको हिस्सा बन्न पाएकोमा आफूलाई भाग्यमानी ठान्छु ।’ विलियम्सनले आफ्नो करियर टेस्ट क्रिकेटमा न्युजील्यान्डका सर्वाधिक रनकर्ता खेलाडीका रूपमा समाप्त गरेका छन् । उनले ११० टेस्टमा ५४.०६ को औसतमा ९ हजार ५१५ रन बनाएका छन् ।
उनको करियरको सबैभन्दा ठूलो उपलब्धि सन् २०२१ मा न्युजील्यान्डलाई पहिलो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जिताउनु रह्यो । फाइनलमा न्युजील्यान्डले भारतलाई पराजित गरेको थियो । त्यस्तै उनले १७५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा ७ हजार २५६ रन बनाएका छन्, जुन न्युजील्यान्डका लागि चौथो सर्वाधिक रन हो । त्यस्तै ९३ टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ५७५ रन बनाएका छन्, जुन न्युजील्यान्डका लागि दोस्रो सर्वाधिक रन हो । विलियम्सनले ४० टेस्टमा कप्तानी गर्दा २२ जित, १० हार र ८ बराबरीको नतिजा निकालेका छन् । उनले ९१ एकदिवसीय खेलमा कप्तानी गर्दा ४६ जित, ४० हार र एक खेल बराबरी भयो । त्यस्तै ७५ टी–२० अन्तर्राष्ट्रिय खेलमा कप्तानी गर्दा ३९ जित, ३४ हार र एक खेल बराबरी भएको थियो । उनको नेतृत्वमा न्युजील्यान्डले २०२१ मा विश्व टेस्ट च्याम्पियनसिप जित्नुका साथै २०१६ को टी–२० विश्वकपको सेमिफाइनल, २०१९ को एकदिवसीय विश्वकपको फाइनल, २०२१ को टी–२० विश्वकपको फाइनल, २०२२ को टी–२० विश्वकपको सेमिफाइनल तथा २०२३ को एकदिवसीय विश्वकपको सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो । १६ वर्ष लामो अन्तर्राष्ट्रिय यात्रापछि विलियम्सनको बहिर्गमनसँगै न्युजील्यान्ड क्रिकेटको एक स्वर्णिम अध्याय समाप्त भएको छ ।
८- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध नयाँ सैन्य आक्रमणको तयारी अन्तिम चरणमा पुगेका बेला अन्तिम समयमा त्यसलाई रोक्न निर्देशन दिएको खुलासा भएको छ । एनबीसी न्युजको रिपोर्टअनुसार आक्रमण सुरु हुन करिब तीन घण्टा मात्र बाँकी रहँदा ट्रम्पले सैन्य कारबाही स्थगित गर्न आदेश दिएका थिए । अमेरिकी सेनाले सम्भावित लक्ष्यहरू पहिचान गरिसकेको थियो भने अमेरिकी नौसेनाले पनि अभियानका लागि आवश्यक तयारी पूरा गरी हतियार तैनाथ गरिसकेको बताइएको छ । यसअघि ट्रम्पले अमेरिका छिट्टै इरानको खार्ग टापुमाथि नियन्त्रण स्थापित गर्ने दाबी गरेका थिए । तर उक्त टापु सम्भावित आक्रमण लक्ष्यहरूको सूचीमा नरहेको दाबी गरिएको छ ।
रिपोर्टमा ट्रम्पले अन्तिम समयमा निर्णय परिवर्तन गरी आक्रमण रद्द गरेपछि अमेरिकी सैन्य अधिकारीहरूबीच अन्योलको अवस्था सिर्जना भएको पनि उल्लेख गरिएको छ । यसबीच ट्रम्पले अमेरिका र इरानबीच चाँडै शान्ति सम्झौता हुने दाबी पटक–पटक दोहोर्याउँदै आएका छन् । उनी हालसम्म ३९ पटक यस्तो दाबी गरिसकेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । सिएनएनका अनुसार मार्च महिनायता ट्रम्पले सार्वजनिक अभिव्यक्ति, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमसँगको कुराकानीमा कम्तीमा ३८ पटक इरान सम्झौताका लागि तयार रहेको वा सम्झौता नजिक पुगेको बताएका थिए ।
पछिल्लो अभिव्यक्तिसँगै यस्तो दाबीको संख्या ३९ पुगेको जनाइएको छ । यद्यपि इरानले भने अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको र महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी रहेको बताउँदै आएको छ । उता, ट्रम्पले इरानमाथिको सम्भावित आक्रमण रोक्ने निर्णयबारे इजरायललाई पूर्वजानकारी नदिएको पनि खुलासा भएको छ । एक्सिओसको रिपोर्टअनुसार ट्रम्पको सार्वजनिक घोषणाअघि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई कुनै जानकारी दिइएको थिएन र उनी उक्त निर्णयबाट आश्चर्यचकित बनेका थिए । रिपोर्टमा इजरायलले लगातार अमेरिकासँग इरानमाथि सैन्य दबाब कायम राख्न आग्रह गर्दै आएको दाबी गरिएको छ । इजरायली अधिकारीहरूको बुझाइमा तेहरानले वार्तालाई समय लम्ब्याउने रणनीतिक माध्यमका रूपमा प्रयोग गरिरहेको छ ।
९- नेप्सेमा आज गिरावट आएको छ । आज शुक्रबार नेप्से ४ अंकले घटेर २७२४.०३ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका ९८ लाख ५६ हजार ५२५ कित्ता शेयर ४ अर्ब ३४ करोड १० लाख ९४ हजार ७६४ मा कारोबार भएको थियो । आज म्युचुअल फण्ड, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी सोपान फार्मा र अपोलो हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कालिन्चोक हाइड्रोको शेयर १०.६६ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २५ करोड ५३ लाख बराबरको कारोबार भएको छ भने सिटी होटल्सको २४ करोड ८६ लाख बराबरको कारोबार भएको छ ।
१०- ३१ वर्षअघि सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको “सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग” (रावल आयोग) को प्रतिवेदन, २०५२ लाई अन्ततः सरकारले कार्यान्वयनमा लैजाने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सो प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पालना गर्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने गर्ने निर्णय गरेको हो ।
साथै, सर्वोच्च अदालतको उक्त आदेशलाई टेकेर देशभर रहेका सरकारी तथा सार्वजनिक जग्गाको व्यवस्थित अभिलेख (लगत) राखी त्यस्ता जग्गाको संरक्षण गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ। मन्त्रिपरिषद् बैठकले यी दुवै निर्णय कार्यान्वयनका लागि भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ । साथै, उल्लिखित सार्वजनिक तथा सरकारी जग्गाको अतिक्रमणकारीहरूलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने प्रक्रिया पनि अघि बढ्ने भएको छ ।
काठमाडौँ महानगर क्षेत्रमा तत्कालिन समयमा जम्मा अठार हजार नौ सय एकचालिस (१८९४१) रोपनीभन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा रावल आयोगले अध्ययन गर्दासम्म १८५९ रोपनीभन्दा (करीब १० प्रतिशत) बढी जग्गा अतिक्रमण भइसकेको थियो। यस क्रममा १,१८७ जना अतिक्रमणकारीहरूले ३०८ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा उपभोग गरिरहेको तथा थप ६,९०६ जना अतिक्रमणकारीहरूले १,७६२ कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो निजी जग्गामा घुसाउदा जम्मा ८,०९३ जना अतिक्रमणकारीहरूले २,०७० कित्ता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेको अवस्था थियो।
तत्कालीन सरकारले सरकारी तथा सार्वजनिक जग्गाको व्यापक अतिक्रमण, गैरकानूनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षणसम्बन्धी गम्भीर समस्या समाधान गर्ने उद्देश्यले २०५० साल असोज २१ गतेको निर्णयानुसार सरकारका तत्कालीन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो। आयोगले काठमाडौँ नगरक्षेत्रभित्र भएका सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको अवस्थाबारे विस्तृत अध्ययन गरी २०५२ सालमा सुझाव सहितको आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको थियो।
आयोगले प्रतिवेदन बुझाए पनि राजनीतिक र प्रशासनिक उदासीनताका कारण यो प्रतिवेदन कार्यान्वयनमा आएको थिएन । त्यसको ८ वर्षपछि अधिवक्ता प्रकाशमणि शर्मासमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समेतलाई विपक्षी बनाई रावल आयोगको प्रतिवेदन, २०५२ को कार्यान्वयनका लागि परमादेशसमेत माग गरी सर्वोच्च अदालतमा २०६० सालमा रिट दर्ता गरेका थिए । उक्त रिट निवेदनको सुनुवाइको क्रममा रावल आयोगको प्रतिवेदन कार्यान्वयनका सम्बन्धमा विशेषज्ञ सम्मिलित समितिद्वारा अध्ययन गर्न उपयुक्त देखिएकाले सर्वोच्च अदालतको २०६६ साल जेठ १७ गतेको इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा विशेषज्ञ समिति गठन गरी सुझावसहितको प्रतिवेदन पेश गर्ने आदेश दिएको थियो। सो विशेषज्ञ समितिले काठमाडौँ बाहेक देशका अन्य स्थानहरूमा भएका सरकारी जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गर्नुपर्ने सुझावसहितको प्रतिवेदन २०६६ चैत १ गते पेश गरेको थियो ।
विशेषज्ञ समितिको उक्त प्रतिवेदन समेतको अध्ययन पश्चात् सर्वोच्च अदालतले २०६७ जेठ १२ गते रिट निवेदनमा अन्तिम सुनुवाइ गर्दै ‘विशेषज्ञ समितिको प्रतिवेदनअनुसार रावल आयोगको प्रतिवेदन कार्यान्वयन हुन र देशका अन्य स्थानहरूमा भएको सरकारी तथा सार्वजनिक जग्गाहरूको अतिक्रमणको विषयमा समेत छानबिन गरी कानूनबमोजिम कारबाही गर्न वाञ्छनीय देखिएकोले सो कार्यलाई उच्च प्राथमिकता प्रदान गरी छिटो कार्यान्वयन गर्नू गराउनू’ भनी विपक्षीहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो । यस्तै, नीति अनुसन्धान प्रतिष्ठानले यो प्रतिवेदन र सोको कार्यान्वयनका लागि सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश (२०६७) सम्बद्ध टिप्पणीसहितको सङ्क्षेपीकरण तथा सुझाव प्रतिवेदन, २०८३’ शीर्षकको मामला अध्ययन प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गरेको थियो ।
११- मन्त्रिपरिषद्को बैठकले विभिन्न तीन निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल, २०८२ को म्याद २०८३ असार मसान्तसम्म थप गर्ने निर्णय गरको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् । त्यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन, २०५२ कार्यान्वयन गर्न भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ भने रमेश कुमार धिताल, सिन्धुपाल्चोकलाई लेखामान बोर्डको अध्यक्ष पदमा मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले बताएका छन् ।
१२- सर्वोच्च अदालतले युद्धमा बालसैन्य प्रयोगका सन्दर्भमा तत्कालीन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता डा. बाबुराम भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको छ । पूर्वबालसैनिक लेनिन विष्टले दायर गरेको मुद्दामा अदालतले शुक्रबार निर्णय सुनाउदै प्रचण्ड र भट्टराईमाथि अभियोजन गर्न नपर्ने ठहर गरेको हो । द्वन्द्वकालीन अवस्थाका घटनाहरूबारे संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्था कार्यान्वयनमा रहेकाले उनीहरूमाथि छुट्टै अभियोजन आवश्यक नरहेको पूर्ण इजलासले निष्कर्ष निकालेको छ ।
सपना मल्ल प्रधान, सुनिल पोखरेल र शंतिसिंह थापाको पूर्ण इजलासले बालसैन्यलाई निषेध गर्ने कानून बनाउन निर्देशनात्मक आदेश दिदै बालसैन्य प्रयोगलाई गम्भीर मानवअधिकार उल्लंघनको विषयमा समेट्न निर्देशन दिएको छ । इजलासले भनेको छ- ‘ द्वन्द्वको कारण समाजबाट अलग्याइएका व्यक्तिहरूलाई पुनः समाजसँग जोड्नु राज्यको कानुनी दायित्व हो, कुनै दया वा परोपकार होइन । त्यसैले, निवेदकहरूको सम्मानजनक सामाजिक पुनर्एकीकरणका लागि अनुकूल वातावरण निर्माण गर्न आवश्यक कदमहरू चालिनु आवश्यक देखिन्छ ।’ विष्टले संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानून अनुकूल नभएको दाबी गर्दै दुई वर्षअघि सर्वोच्चमा रिट दर्ता गरेका थिए ।
१३- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रस्थित सीमा नजिक भारतीय सुरक्षाकर्मी हतियारसहित खोला तरेर नेपाली क्षेत्रमा गस्ती गर्न आएपछि स्थानीयले प्रतिकार गरेका छन् । स्थानीयका अनुसार सुरक्षाकर्मीहरू नेपाली भूभागतर्फ प्रवेश गरेपछि उनीहरूलाई आउनुको कारण सोध्दै विरोध गरेका थिए । भारतीय सुरक्षाकर्मीलेस्पष्ट जवाफ नदिई अटेरी गरेपछि स्थानीयहरू एकजुट भएर प्रतिकारमा उत्रिएको बताएका छन् ।
सामाजिक सञ्जालमा सार्बजनिक भिडियोमा पनि स्थानीयले प्रतिकार गरेको देखिएको छ । यसअघि पनि भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा निर्माणाधीन तटबन्धको काम रोक्न दबाब दिएको भन्दै स्थानीयले गुनासो गरेका थिए । यसैबीच यो विषयले प्रतिनिधि सभामा पनि प्रवेश गरेको छ । नेकपा एमालेका सांसद ऐन महरले प्रतिनिधि सभामा यो घटना उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
१४- आइसीसी महिला टी-२० विश्वकप आजदेखि हुँदैछ। प्रतियोगिताको पहिलो खेल बर्मिङ्घममा इंग्ल्यान्ड र श्रीलंकाबीच हुदैछ । यो खेल नेपाली समयअनुसार राति ११:३० बजेदेखि सुरु हुनेछ। खेल सुरु हुनुअघि उद्घाटन समारोह (ओपनिङ सेरेमनी) आयोजना गरिनेछ, जहाँ ब्रिटिस अभिनेत्री एमा किंग्सटन र अभिनेत्री तथा गायिका जिजी स्ट्रलेनले आफ्नो प्रस्तुति दिनेछन् । यस पटकको महिला टी-२० विश्वकपमा १२ टोलीले सहभागिता जनाउँदैछन् । हालको लय (फर्म), विश्वकपको इतिहास, टोलीको सन्तुलन र कप्तानीलाई आधार मान्दा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र दक्षिण अफ्रिका उपाधिका सबैभन्दा बलियो दाबेदार देखिएका छन्।
महिला क्रिकेट इतिहासमा अस्ट्रेलिया सबैभन्दा सफल देश हो । अस्ट्रेलियाले हालसम्म भएका ९ वटा संस्करणमध्ये ६ पटक टी-२० विश्वकपको उपाधि जितेको छ । यस पटक टोली एलिसा हिलीपछि सोफी मोलिन्युक्सको कप्तानीमा मैदान उत्रिनेछ । टोलीमा एलिस पेरी, बेथ मुनी, एश गार्डनर, ताहलिया म्याकग्रा र मेगन शुट जस्ता स्टार खेलाडीहरूको उपस्थिति रहनुले अस्ट्रेलियालाई निकै बलियो बनाएको छ । विगत डेढ वर्षमा अस्ट्रेलियाले १२ वटा टी-२० खेलमध्ये १० वटामा जित दर्ता गरेको छ। तर, हालैका आईसीसी प्रतियोगिताहरूमा भने टोलीले आफ्नो क्षमता अनुरूप प्रदर्शन गर्न सकेको छैन । सन् २०२५ को एकदिवसीय विश्वकपको सेमिफाइनलमा अस्ट्रेलिया भारतसँग पराजित भएको थियो भने २०२४ को टी-२० विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकासँग पराजित भएको थियो ।
यस विश्वकपमा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड, दक्षिण अफ्रिका, न्यूजील्याण्ड, वेस्ट इण्डिज, पाकिस्तान, श्रीलंका, बंगलादेश, आयरल्याण्ड, नेदरल्याण्डस र स्कटल्याण्ड खेल्दैछन् । जसमा अस्ट्रेलिया, भारत, बंगलादेश, नेदरल्याण्डस, पाकिस्तान र दक्षिण अफ्रिका समुह ए मा रहेका छन् भने इङल्याण्ड, आयरल्याण्ड, न्यूजील्याण्ड, स्कटल्याण्ड, श्रीलंका र वेस्ट इन्डिज समुह बी मा रहेका छन् । समुह चरणका खेलपछि शिर्ष २ स्थानमा रहेका देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको सेमिफाइनल खेल जुन ३० र जुलाई २ मा तथा फाइनल खेल जुलाई ५ मा हुने तालिका रहेको छ ।
१५- परराष्ट्रमन्त्री शिशिर खनाल चीन सरकारको मैत्रीपूर्ण निमन्त्रणामा जेठ ३१ गतेदेखि असार ३ गतेसम्म जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ समकक्षी वाङ यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । वार्तामा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने जनाइएको छ । भ्रमणका क्रममा मन्त्री खनालले चीनका उच्चस्तरीय सरकारी अधिकारीहरूसँग पनि भेटवार्ता गर्नेछन् । त्यसैगरी, बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने लगानी सम्मेलनमा सहभागी हुँदै उनले नेपालमा वैदेशिक लगानी प्रवर्द्धनका विषयमा चिनियाँ व्यवसायी समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग भेटघाट तथा छलफल गर्नेछन् । चारदिने भ्रमण सम्पन्न गरी मन्त्री खनाल असार ३ गते काठमाडौँ फर्किने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
१६- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नेपाली सेनालाई सीमामा खटाउनुपर्ने माग गरेका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै साम्पाङले नवलपरासीको सुस्तामा हतियारसहित भारतीय सीमा सुरक्षा बलले नेपाली नागरिकलाई दुख दिएको प्रसंग उठाउदै सीमामा नेपाली सेना खटाउन के ले रोकेको छ भन्दै सरकारसँग प्रश्न गरेका हुन् ।
साम्पाङले प्रधानमन्त्री संसदमा नआउने भएपनि देशमा रक्षमन्त्री को छ, जानकारी दिदै संसदमा बोलाइदिन सभामुखलाई आग्रह गरेका थिए । उनले नेपाल सरकारले सेनालाई सिमानामा पठाउनै नहुने के करार भएको रहेछ भन्दै कहाँ के सन्धि गरिएको छ संसदलाई जानकारी दिन समेत माग गरेका छन् ।
१७- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद र संसदीय समितिमा प्रश्न सोध्ने विपक्षी धाकधम्की दिएको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले बजेट बारेको जवाफ दिने क्रममा र संसदीय समितिमा अर्थमन्त्री डा. वाग्लेले विपक्षी दलका सांसदहरुलाई धम्काएको आरोप लगाएका हुन् ।
उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् । कार्यपालिका व्यवस्थापिकाप्रति जवाफदेही हुनुपर्छ ।’ सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको र विगतमा धेरै भएको थियो अहिले थोरै भएको छ भनेर उम्किन नपाउने बताउदै यसको संसदीय छानबिन हुनुपर्ने माग गरेका छन् ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ५ हजार ३ सयले बढेर तोलाको २ लाख ९२ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ८६ हजार ७ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १९० रुपैयाँले बढेर तोलाको ४८४० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४६५० मा कारोबार भएको थियो ।
१९- दक्षिण कोरियाले विश्वकप फुटबलमा विजयी शुरुवात गरेको छ । शुक्रबार बिहान सम्पन्न समुह ए अन्तर्गतको खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २-१ गोल अन्तरले पराजित गरेको हो । दक्षिण कोरियाको जितमा ह्वाङ इन बियोम र ओह ह्योन ग्युले एक एक गोल गरेका थिए ।
त्यस्तै चेक रिपब्लिकका लागि एक गोल लाडिस्लाभ क्रेज्कीले गरेका थिए । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा खेलको ५९औं मिनेटमा क्रेज्कीको गोलमा चेक रिपब्लिकले शुरुवाती अग्रता लुएको थियो । तर खेलको ६७औं मिनेटमा बियोमले गोल गर्दै दक्षिण कोरियालाई खेलमा फर्काउदै बराबरी गरेका थिए । त्यसपछि सबस्टिच्युटको रुपमा मैदानमा आएका ग्युले खेलको ८०औं मिनेटमा गोल गर्दै दक्षिण कोरियालाई जित दिलाएका थिए ।
अब दक्षिण कोरियाले अर्को खेल जुन १९ मा मेक्सिकोसँग खेल्ने छ भने चेक गणतन्त्रले अर्को खेल जुन १८ मा दक्षिण अफ्रिकासँग खेल्ने तालिका रहेको छ । त्यस्तै यसअघि गएराती सम्पन्न विश्वकपको उद्घाटन खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मेक्सिको सिटीस्थित एज्टेका रंगशालामा बिहीबार भएको खेलमा मेक्सिकोका लागि जुलियन किन्योनेस र राउल हिमेनेजले एक–एक गोल गरेका थिए । प्रतिस्पर्धात्मक खेलमा तीन रातो कार्ड देखाइएका थिए। अब मेक्सिकोले अर्को खेल जुन १९ मा दक्षिण कोरिया र जुन २५ मा चेक गणतन्त्रसँग खेल्ने तालिका छ । त्यस्तै दक्षिण अफ्रिकाले जुन १८ मा चेक गणतन्त्र र जुन २५ मा दक्षिण कोरियासँग खेल्ने तालिका रहेको छ ।
२०- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठूलो सम्झौता भएको दाबी गरे पनि इरानले उक्त दाबी अस्वीकार गरेको छ । इरानले अमेरिकासँग अहिलेसम्म कुनै पनि अन्तिम सम्झौता नभएको स्पष्ट पारेको हो । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौतासम्बन्धी मस्यौदा हाल सम्बन्धित निकायहरूमा अध्ययन र समीक्षा प्रक्रियामा रहेको बताएका छन् । उनले यसबारे अन्तिम निर्णय भइनसकेको स्पष्ट पारेका छन् ।
उनका अनुसार यो विषय अत्यन्तै संवेदनशील भएकाले सम्बन्धित निर्णय गर्ने निकायहरूले गम्भीर रूपमा छलफल गरिरहेका छन् । बघाईले वार्ताको मस्यौदाको ठूलो हिस्सा पहिले नै टुंगिसकेको भए पनि वार्ताका क्रममा अमेरिकी पक्षले पटक–पटक आफ्नो अडान परिवर्तन गरेको आरोप समेत लगाएका छन् । यसअघि ट्रम्पले इरानसँग सहमति भएको भन्दै तत्कालका लागि आक्रमण रोकेको बताएका थिए ।