काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वत: अध्यक्ष बनेका छन् ।
संस्थाको संशोधित विधानको धारा १५ को उपधारा १२ मा व्यवस्था गरिए अनुसार उनी संस्थाको २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट स्वत: अध्यक्षमा चयन भएका हुन् । शुक्रबार राति अबेर सम्पन्न साधारण सभाले संस्थाको अन्य पदाधिकारी र सदस्यहरू पनि चयन गरेको छ ।
जस अनुसार वरिष्ठ उपाध्यक्षमा उत्तम श्लोन र पाँच जना उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्र बल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक चयन भएका छन् ।

त्यसैगरी, महासचिवमा टेकनाथ आचार्य (टीएन), उपमहासचिवमा कविता पोखरेल तथा सचिवमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुबेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी चयन भएका छन् ।

कोषाध्यक्षमा शंकर बस्याल निर्वाचित भएका छन् । संस्थाको नयाँ कार्यसमितिका लागि सबै पदमा निर्विरोध निर्वाचित हुँदा कोषाध्यक्ष पदका लागि शंकर बस्याल र मिथुन चक्रवर्ती प्रसाद पौडेलबीच निर्वाचन गरिएको थियो । जस अनुसार बस्याल २६७ मत प्राप्त गर्दै विजयी भए भने पौडेलले ८२ मत प्राप्त गरे ।

यस्तै खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध चयन भएका छन् ।


