काठमाडौं । कान नसुन्ने समस्या (हियरिङ लस)बाट पिरोलिरहनुभएको छ भने मानसिक तनाव उत्पन्न हुनसक्नेमा सचेत रहनुहोला । कान नसुन्ने समस्याले पनि मानसिक रोग निम्त्याउँछ ।
निजामती कर्मचारी अस्पतालका नाक, कान, घाँटी विशेषज्ञ डा.निर्मला तामाङले कान नसुन्ने समस्याका कारण धेरैमा मानसिक रोगको समस्या देखिएको जानकारी दिइन् ।
उनले भनिन्, “धेरै बिरामीले कान नसुनेकै कारण एन्टी डिप्रेसनको औषधि खानुपरेको छ ।” यस्तो समस्या ४० वर्ष उमेर नाघेपछि हुने बताउँदै उनले यस्तो समस्याका कारण बिरामी विभिन्न रोगको सिकार बन्नुपरेको बताइन् ।
हियरिङ लस’ भएपछि अरूका कुरा सुन्न र उत्तर दिन सकिँदैन, त्यसैले उनीहरू समाजसँग अलग बस्न रुचाउने हुन्छ । बिरामीमा हिनताबोध र एकल महसुस हुन्छ । भित्री कानमा इन्फेक्सन भएर सुन्ने नसाहरूलाई नै कमजोर गरिदिने जानकारी दिँदै डा. तामाङले कान कराउने समस्याले पनि बिरामीलाई धेरै तनाव हुने बताइन ।
उनले यस्तो अवस्थामा थेरापी गर्नुपर्ने सुझाव दिइन । उनले चर्को आवाज आउने ठाउँमा काम गर्ने व्यक्ति, धेरै सवारीको चाप हुने ठाउँमा काम गर्ने, ट्राफिक प्रहरी, एयर फोन लगाएर चर्को स्वरमा घण्टाँै सुन्ने, एयरपोर्टका कर्मचारीलाई हियरिङ लस हुने सम्भावना बढी हुने बताइएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS