काठमाडौं,चैत ६- सरकारले चालू आवमा मूल्य वृद्धि ६ प्रतिशतभन्दा माथि नपुर्याउने लक्ष्य राखे पनि यसको रेखा सरकारी लक्ष्यभन्दा माथि उक्लँदै गएको छ । गत मंसिर महीनादेखि मूल्य वृद्धि लक्ष्यभन्दा माथि जान थालेको हो ।
गत माघसम्ममा तरकारी, मसला, दाल तथा गेडागुडी र मासु तथा माछाको मूल्य वृद्धि उच्च हुन थालेपछि समग्रमा मूल्य वृद्धि बढेको थियो ।
त्यस्तै गैरखाद्य तथा सेवासमूहअन्तर्गत शिक्षा, स्वास्थ्य र लुगा तथा जुत्ता उपसमूहको मूल्य केही बढेको थियो । खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रहेका ती वस्तुको उपभोक्ता मूल्य वृद्धि ९मुद्रास्फीति० गत माघसम्ममा ६ दशमलव ८७ प्रतिशत पुगेको छ । जबकि अघिल्लो वर्षको सोही महीनामा यस्तो मुद्रास्फीति ४ दशमलव ३५ प्रतिशत रहेको थियो । ७ महीनाको औसत मुद्रास्फीति ६ दशमलव ४७ प्रतिशत छ ।
नेपाल राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको चालू आवको पछिल्लो ७ महीनाको आर्थिक तथा वित्तीय स्थितिको प्रतिवेदनले सबैभन्दा बढी महँगी काठमाडौंमा बढेको देखाएको छ । काठमाडौं उपत्यकाका ७ दशमलव ५८ मूल्य वृद्धि छ भने तराईमा ७ दशमलव २६ प्रतिशत छ ।
‘नेपालमा मुद्रास्फीतिको चाप विगत ४–५ महीनादेखि पर्दै आएको छ । हिउँदमा मुद्रास्फीति कम हुनुपर्ने हो । किसानले धान भित्र्याउने, तरकारी उब्जाउने मौसम पनि हो,’ अर्थविद् केशव आचार्यले भने । तर, अधिकांश खाद्यवस्तु भारतबाट आयात हुन्छ । अहिले नेपालको तुलनामा छिमेकी मुलुक भारतको मूल्य वृद्धि चर्को हुँदा यसको असर नेपालको तराई र काठमाडौं उपत्यकामा देखिएको नेपाल राष्ट्र बैंकका प्रवक्ता डा। गुणाकर भट्ट बताउँछन् ।
‘छिमेकी मुलुक भारतको उपभोग्य वस्तुमा परेको महँगीको चापको प्रभाव नेपालको बजारमा समेत देखिएको हो । आर्थिक वर्ष (आव) २०७६/७७ मा माघसम्म भारतमा मुद्रास्फीति ६ दशमलव ५८ प्रतिशत रहेको छ । नेपालले अधिकांश खाद्यवस्तु भारतबाट आयात गर्नुपर्ने भएकाले गतवर्ष भन्दा यसवर्ष मुद्रास्फीतिमा दबाब परेको हो,’ उनले भने । पछिल्लो समय कोरोनाका कारण चीनबाट सामान आयात ठप्प छ । यसले गैरखाद्य वस्तुको मूल्यमा थप चाप पार्न सक्ने सम्भावना देखिएको छ । त्यसो हुँदा समग्रमा सरकारले भनेअनुसार महँगी नियन्त्रण हुन गाह्रो देखिन्छ ।
निर्यात बढ्यो आयात घट्यो
समीक्षा अवधिमा कुल वस्तु निर्यात २२ दशमलव ४ प्रतिशतले वृद्धि भई रू. ६४ अर्ब ९७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १२ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारततर्फ निर्यात ३८ दशमलव शून्न्य प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फ १२ दशमलव ७ प्रतिशत र अन्य मुलुकतर्फ २ दशमलव ४ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, धागो (पोलिस्टर तथा अन्य), लगायत वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायत वस्तुको निर्यात घटेको छ ।
गत माघको तथ्यांकले कुल वस्तु आयात ३ दशमलव ६ प्रतिशतले घटेर रू.८ खर्ब ३ अर्ब ६० करोड कायम भएको देखाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ८ प्रतिशतले घटेको छ । तर, उक्त अवधिमा भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९ दशमलव ८ प्रतिशत र शून्य दशमलव ८ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा कच्चा पाम तेल, रासायनिक मल, हटरोल सीट, मेशिनरी तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेललगायत वस्तुको आयात बढेको छ भने एमएस बिलेट, सुन, यातायातका साधन तथा पार्टपुर्जा, पेट्रोलियम पदार्थ, सिमेन्टलगायत वस्तुको आयात घटेको छ ।
आयात कम हुँदा बजारमा भएका वस्तुको मूल्य वृद्धि हुन सक्ने देखिन्छ । यद्यपि चीनमा क्रमशः कोरोना भाइरस संक्रमणमा कमी आएकाले करीब डेढ महीनासम्म जनजीवन असहज नबनाउने नेपाल बैंकर संघका अध्यक्ष भुवनकुमार दाहाल बताउँछन् ।
गत माघसम्ममा पर्यटन तथा भ्रमण आय १५ प्रतिशतले वृद्धि भई रू.४९ अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रू.४२ अर्ब ६० करोड रहेको थियो ।
आर्थिक वर्षको ७ महीनामा मुलुकमा समष्टिगत आर्थिक स्थायित्व भएको बताउँदै प्रवक्ता डा। भट्टले अब भने कोरोनाको त्रासले अर्थतन्त्र सबल बनाउन चुनौती थपिएको बताए । अर्थतन्त्र सबल बनाउन उपभोक्ता, व्यवसायी, सरकारलगायत आत्मविश्वास कमी हुन नहुने उनको भनाइ छ । ‘कोरोना त्रासले विप्रेषणमा दबाब आउँछ तर आन्तरिक जनशक्तिलाई चलायमान गर्ने अवसर पनि छ,’ उनले भने, ‘अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । यसले नेपालमा निर्माणाधीन पूर्वाधारको लागत कम पर्न जान्छ ।’
हायर पर्चेज (सवारी) कर्जा, ओभरड्राफ्ट कर्जामा कडाइ र विदेश भ्रमणमा जानेको पासपोर्टअनुसार सटही सुविधामा कटौती गरिएकाले बाह्य क्षेत्र सन्तुलनमा आएको उनको दाबी छ । आजको आर्थिक अभियानमा समाचार छ ।
FACEBOOK COMMENTS