काठमाण्डौं – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र नेपालका लगि भारतिय राजदुत मन्जिभ सिह पुरी तथा नेपालगञ्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरु बिच अन्तरक्रिया कार्यक्रम भएको छ ।
उक्त कार्यक्रममा नेपालगञ्ज दिल्ली हवाई उडान, नेपाली गाडीलाई भारतमा सहज आवागमन, नेपालगञ्जको विकास निर्माण एवं नेपालमा भारतीय पर्यटक आकर्षणमा सहयोग लगायतका विषयमा छलफल भएको महासंघले जनाएको छ ।
बाँके र बर्दियाका उद्यमी व्यवसायीहरूको बाक्लो उपस्थिति रहेको उक्त कार्यक्रममा सहभागीहरुले नेपालगञ्ज दिल्ली हवाई उडान छिटो संचालन गर्नुपर्ने, नेपाली गाडीलाई भारतमा सहज आवतजावत हुनुपर्ने, नेपाली जडीवूटीको सहज निकास, सिटी हल एवं सुख्खा बन्दरगाह निर्माण जस्ता महत्वपूर्ण कार्यक्रमलाई समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिएका थिए ।
अध्यक्ष राणाले नेपालगञ्ज–दिल्ली उडानसंगै मानसरोवरको प्रवेशद्वार नेपालगञ्ज हुने भएकाले नेपालगञ्ज सहित सिंगो प्रदेश नम्वर ५ को विकासले फड्को मार्ने विश्वास प्रकट गरिन ।
दुई देश बीचको आर्थिक व्यवसायिक सम्बन्धलाई थप उचाईमा पु¥याउन र भारतले गरेको आर्थिक विकासबाट नेपालले पनि फाइदा उठाउन “कनेक्टीभीटी” महत्वपूर्ण हुने धारणा राख्दै नेपालगञ्ज लगायत नेपाल र भारतका मुख्य सहरहरू बीच सिधा हवाई सम्पर्क विस्तारमा जोड दिनु पर्ने राणाको भनाई छ ।
व्यवसायीहरूले “ह्यापी बोर्डर”का लागि कस्टम लगायत सीमा सुरक्षामा रहनेहरूको व्यवहारमा परिवर्तन गरिनुपर्ने, प्रत्येक भारतीयलाई एकपटक नेपाल घुम्न जाने प्रेरणात्मक कार्यक्रम चलाउनु पर्ने लगायतका सुझाव समेत राखेका थिए ।
सो अवसरमा राजदुत पुरीले मानसरोवर जाने भारतीयका लागि नेपालगञ्जलाई मुख्य बाटो बनाउन सकिएमा यहाँको विकासमा ठूलो सहयोग पुग्ने बताए । उनले दिल्ली नेपालगञ्ज उडान भएपछि मानसरोवर जाने भारतीय पर्यटकका लागि नेपालगञ्ज मुख्य नाका हुने र त्यसबाट यहाँको विकासमा ढोका खुल्ने दावी गरे ।
FACEBOOK COMMENTS