काठमाडौं, मंसिर २५ – भारतका वरिष्ठ कवि तथा पत्रकार मंगलेश डबरालको निधन भएको छ । ७२ वर्षका उनका बुधबार अबेर बेलुका निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दिल्लीको उम्स अस्प्तालमा बुधबार बेलुका कवि तथा पत्रकार डबरालले अन्तिम सास लिएको साहित्यकार आनन्द स्वरुप बर्मालाई उद्धृत गरी बिबिसी हिन्दीले लेखेको छ ।
साहित्य एकेडेमी पुरकारबाट सम्मानित कवि–लेखक डबराल समकालीन हिन्दी कविहरुमा चर्चित थिए । साहित्य तथा पत्रकारिता जगतका व्यक्तिहरुले उनको निधनमा दुःख व्यक्त गरेका छन्।कोरोना भाइरसबाट संक्रमित भएका उनको उपचारको क्रममा निधन भएको हो।
डबरालका ‘पहाड पर लालटेन, घर का रास्ता, हम जो देखते हैं, आवाज भी एक जगह है र नये युग में शत्रु’ सहितका कविता संग्रह छन् । मंगलेश डबरालले कविता, डायरी, गद्य, अनुवाद, सम्पादन, पत्रिकारिता र पटकथा लेखनसहितका साहित्य क्षेत्रका विविध विधामा कलम चलाएका छन्।
उनले नागार्जुन, निर्मल वर्मा, महाश्वेता देवी, युआर अनन्तमूर्ति, कुर्रतुल ऐन हैदर र गुरुदयाल सिंहमा केन्द्रित वृत्त चित्रका पटकथा लेखेका थिए। सन् १९४८ को मे १४ मा उत्तराखण्डको टिहरी गढवालको काफलपानी गाउँमा जन्मिएका डबरालले देहरादूनमा अध्ययन सकिएपछि पत्रकारिता थालेका थिए।
FACEBOOK COMMENTS