काठमाडौं- मलेसियाका मानव संशाधन मन्त्री एम कुलशेखरनले नेपाल सरकारसँग मलेसियामा नेपाली कामदार पठाउन लगाइएको प्रतिबन्धमा पुनःविचार गर्न आग्रह गरेका छन्।
मलेसियाका धेरै उद्योगहरु विदेशी कामदारमा निर्भर रहेको भन्दै उनले मलेसियामा आउने कामदारहरुका लागि अन्य उपायहरु समेत अपनाउने बताएका छन्।
पछिल्लो समय मलेसियामा नेपालले कामदार पठाउन रोक लगाएको भन्दै त्यहाँका मन्त्रीले यस्तो आग्रह गरेको मलेसियाको समाचार दी स्टारले जनाएको छ।
मलेसियाको कडा अध्यागमन नीतिका कारण नेपालले मलेसियामा कामदार पठाउन रोक लगाएको थियो। मन्त्री कुलशेखरनले कामदार अनुबन्धन गर्नका लागि तेस्रो पक्षको संलग्नताबाट हुने समस्याका बारेमा आफू जानकार रहेको समेत बताएका छन्।
उनले पछिल्ला दुई साता मलेसियाली सरकारले नेपाल सरकारका अधिकारीहरुसँग समस्या समाधानका लागि छलफल गरिरहेको बताए।

‘सोमबार मैले नेपालका उच्च अधिकारीसमक्ष सम्पर्क गर्नेछु। विचौलियाको प्रयोग नगरी सरकारले जीटुजी प्रक्रियाबाट कामदार ल्याउन सुरु गर्ने छ,’ उनले भने।

मलेसियामा सरकारले विदेशी कामदारमाथि सुरक्षा, स्वास्थ्य परीक्षण, भिसा शूल्कवापत संस्थागत रुपमै अर्बौँको ठगी गरेको भन्दै नेपालले मलेसिया कामदार पठाउन रोक लगाएको हो।