काठमाण्डौँ —विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार कार्यक्रमका लागि करिब साढे २३ अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ।
इन्डोनेसियाको बालीमा जारी बैंकको वार्षिक साधारणसभाका क्रममा बजेटरी प्रणालीबाट खर्च गर्ने गरी दुईवटा सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौतापत्रमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल, भुटान तथा बंगलादेशका लागि कन्ट्री डाइरेक्टर क्युमिआओ फानले हस्ताक्षर गरेका छन्।
पहिलो सम्झौता अनुसार विश्व बैंकले चौथो वित्तीय क्षेत्र स्थिरता विकास नीति क्रेडिट (डिपिसी)का लागि करिब ११ अर्ब सात करोड रुपैयाँ ऋण सहयोग उपलब्ध गराउनेछ।
त्यस्तै, दोस्रो सम्झौतामा ऊर्जा क्षेत्र विकासको पहिलो परियोजना नीति कार्यान्वयनका लागि ११ अर्ब सात करोड रुपैयाँ उपलब्ध गराउने उल्लेख छ।

— नागरीक
