८ असार, काठमाडौं । साझा यातायातलाई दिएको ३ अर्ब फिर्ता लिएको ५ महिनापछि सरकारले विद्युतीय बस किन्न प्रक्रिया सुरु गरेको छ । सरकारले सोमबार एक सार्वजनिक सूचना निकालेर विद्युतीय बसको उत्पादक र आपूर्तिकर्ता कम्पनीसँग ‘जानकारी’ मागेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले एक सूचना जारी गर्दै जुलाई १ तारेकसम्म आफूसँग उपलब्ध विद्युतीय बसबारे विस्तृत जानकारी दिन मागेको हो ।
यो जानकारी लिएपछि उपयुक्त स्पेसिफिकेसन बनाएर विद्युतीय बस खरिद गर्ने योजना मन्त्रालयको छ । मन्त्रालयले तयार गरेको एक फम्र्याटमा बस उत्पादक र आपूर्तिकर्ताले जानकारीहरु दिनुपर्नेछ ।
त्यसरी जानकारी लिएपछि उपयुक्त स्पेसिफिकेसनको बसका लागि बोलपत्र आह्वान गर्ने योजना रहेको मन्त्रालयका एक अधिकारीले बताए ।
सरकारले सार्वजनिक प्रयोजनमा ३ सय वटा विजुली बस किन्नका लागि गत साल नै ३ अर्ब रकम छुट्याएको थियो ।
साझा यातायातले स्पेसिफिकेसन बनाउँदा बनाउँदै ढिलाइ गरेको अभियोग लगाएर गत माघको पहिलो साता बसेको मन्त्रिपरिषद बैठकमार्फत रकम ब्याजसहित फिर्ता मागिएको थियो ।
त्यसपछि बस किन्ने जिम्मेवारी यातायात मन्त्रालयलाई दिइएको थियो । बन्दै गरेको स्पेसिफिकेसन शंकास्पद भएको भन्दै सरकारले बस किन्ने प्रक्रियाबाट साझालाई हटाएको थियो ।
FACEBOOK COMMENTS