काठमाडौं,माघ १३- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बालुवाटारमा रहेको ललिता निवासको जग्गा अनियमितता गर्नेहरुलाई केही दिन भित्रमा कारबाही गर्ने तयारी भइरहेको बताएकी छिन् ।
मन्त्री अर्यालले सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी अनियमितता गर्नेहरुलाई कारबाही गर्ने तयारी भइरहेको बताएकी हुन् ।
पत्रकार सम्मेलनमा मन्त्री अर्यालले अहिलेसम्म १ सय २५ बिघा १६ कट्ठा जमिन सरकारको नाममा फिर्ता आएको जानकारी दिइन् । अहिले सरकार अनाधिकृत व्यक्तिले आफ्नो नाममा बनाएका जग्गा फिर्ता गर्ने अभियानमा छ । सबै ठाउँको डिटेल आइसकेको छैन तर, विस्तारै सबै ठाउँको डिटेल आउछ’, मन्त्री अर्यालले भनिन् ।
यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) र मन्त्रालयले काम गरिरहेको र केही जटिल विषय भएकाले अनुसन्धानमा समय लागेको उनले बताइकी छिन् ।
मन्त्री अर्यालले सर्लाहीको बरहथवाबाट औपचारिक रुपमा जग्गा बदर कार्य शुरु गरेको भन्दै अब हजारौको संख्यामा फर्जीगरिएका जग्गा सरकारको नाममा ल्याउने दाबी गरिन् ।
उनले सरकारी, सार्वजनिक र गुठीबाहेक १३ लाख ३३ हजार ७ सय ८३ वर्गमिटर जग्गा शंकास्पद देखिएकाले ती जग्गाको कारोबार रोक्का गरिएको समेत जानकारी दिइन् ।
मन्त्री अर्यालले २६ हजार १ सय ७६ हेक्टर जमिनको पुनः नापी, गाउँ ब्लक नापी र बिशेष नापी गरिएको बताइन् । उनले उदयपुरको बेलका नगरपालिका-३ को १० वर्ग किलोमिटर क्षेत्रभित्र १७ सय ८६ घरधुरीको ३३ सय कित्ता जग्गाको अनौपचारिक भूसम्वन्धको तथ्यांक संकलन गरिएको छ जानकारी दिइन् ।
अहिलेसम्म १ सय ८ वटा मालपोत कार्यालय अनलाइनमा आधारित सेवा प्रवाह गर्ने बनाइसकिएको र बाँकी कार्यालयलाई पनि अनलाइन गरिने कार्यलाई तिब्रता दिइएको उनको भनाई थियो ।
FACEBOOK COMMENTS