नेपाली सेनाले महाकालीको बाढीमा फसेकाको उद्धार गरेको छ । सेनाको हेलिकोप्टरले आज कञ्चनपुरको भिमदत्त नगरपालिका ९ मा महाकालीको बाढीमा फसेका ५ जनाको उद्धार गरेको हो ।
उनीहरू बाढीका कारण पूर्णागिरी मन्दिरको फेदमा रहेको टापुमा थुनिएको बताइएको छ । मसेट्टीका स्थानीयले उक्त क्षेत्रमा कुखुरा पालन गरेर बस्ने गरेका थिए। लगातारको वर्षाले नदीको एक भँगालो पूर्वतर्फबाट बग्न थालेपछि उनीहरू फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बताएको छ ।
महाकाली नदीमा पानीको वहाव निरन्तर बढ्ने क्रममा छ। ‘सोमबार बिहान महाकालीमा पानीको वहाव ५ लाख २ हजार क्युसेक मापन गरिएको छ’, उनले भने, ‘जुन यो वर्षकै सबैभन्दा बढी हो। बाढी अझै बढ्ने क्रम जारी छ।’
महाकाली नदीमा पानीले खतराको सतह नाघेपछि भारतको बनबासा जोड्ने शारदा ब्यारेजमा आवागमनमा रोक लगाइएको छ। शारदा ब्यारेजमा सवारीसाधन र मानिसको आवागमनलाई पूर्ण रुपमा रोक लगाइएको उनले बताए।
आइतबारदेखि परेको लगातारको वर्षाले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीमा बढी क्षति पुर्याएको छ।
