नारायण ढुङ्गाना
काठमाडौं– राजश्व अनुसन्धान विभागले ९५ प्रतिशत व्यवसायी भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टममा आवद्ध भएको जानकारी दिएको छ ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले शुरुमा व्यवसायीले नबुझेकाले समस्या आएको बताउँदै छलफल गरेपछि भने प्रविधिको प्रयोग प्रभावकारी हुँदै गएको बताएका छन् ।
‘भेहिकल एण्ड कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम’ भनेको व्यवसायीले एक ठाउँबाट अर्को स्थानमा व्यावसायिक प्रयोजनका लागि मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने मालसामानको विवरण विभागको केन्द्रीय सूचना प्रणालीमा इन्ट्री गरेर मात्र ओसारपसार गर्नुपर्ने हुन्छ ।
उक्त प्रावधान लागू भएपछि केही दिन व्यवसायीले यो प्रणालीको विरोध जनाउँदै तत्काल लागू नगर्न दबाब नदिएका होइनन्, तर अहिले व्यवसायीहरु धमाधम प्रणालीमा प्रवेश गर्न थालेका छन् ।

यसरी प्रविष्ट गराएपछि कुन गाडीले कति सामान लिएर कहाँबाट हिँड्यो, कहाँ पुग्यो र कहाँ लगेर सामान झा¥यो भनेर निगरानी गर्न सकिन्छ । जसका कारण राजश्व छली नियन्त्रण हुने विश्वास छ ।

विभागका अनुसार अहिलेसम्म २७ हजार बढीको एकाउन्ट बनिसकेको छ । अहिलेसम्म तीन लाख ५० हजार सवारी इन्ट्री भइसकेको छ । दैनिक झण्डै हजारौँ गाडीले सिष्टममा प्रविष्ट गरेर मालसामान ढुवानी गर्ने गरेको छ । केही साना व्यवसायी सिष्टममा नआएकाले उनीहरुलाई ल्याउने प्रयास जारी रहेको विभागका निर्देशक राजीव पोखरेलले बताए ।

सरकारले साउन १ गतेदेखि सामान सूचना प्रणालीमा प्रविष्ट गराएर मात्रै ढुवानी गर्नुपर्ने व्यवस्था गरेको हो । उक्त प्रणालीको प्रयोग गर्न नजानेका झण्डै दुई हजार व्यवसायीलाई विभागले प्रशिक्षणसमेत दिइसकेको छ ।