कात्तिक ९ काठमाडौं । नेपाल राष्ट्र बैंकबाट वित्तीय विवरण पास गराएका बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । गत आर्थिक वर्ष २०७७/ ७८ को वित्तीय विवरण पेश गरेर स्वीकृत गराएका बैंकहरूले धमाधम लाभांश घोषणा गर्दै राष्ट्र बैंकलाई जानकारी दिन थालेका हुन् । केही बैंकहरुले लाभांश घोषणा गरी साधारण सभा प्रयोजनका लागि बुक क्लोज समेत गरेका छन् ।
सोमबार केही बैंकहरुको बोनस शेयर पछि मूल्य समायोजन भएको छ । माछापुछ्रे बैंक, सानिमा बैंक, कुमारी बैंक लगायतको नेपाल स्टक एक्सचेञ्जमा मूल्य समायोजन समेत भइसकेको छ । हालसम्म लाभांश सार्वजनिक गरेका बैंकहरु मध्ये गत आर्थिक वर्षको मूनाफाबाट धेरै लाभांश दिने पहिलो नम्बरमा हिमालयन बैंक देखिएको छ ।
हिमालयन बैंकले नगद लाभांश ४.६२ प्रतिशत र बोनस शेयर २१.३८ प्रतिशत गरी जम्मा २६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । दोस्रो नम्बरमा देखिएको सानिमा बैंकले ०.८९ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि र १७ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ भने तेस्रो नम्बरमा धेरै लाभांश घोषणा गर्नेमा नेपाल बैंक देखिएको छ । नेपाल बैंकले ३ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस शेयर गरी १७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
अब यी बैंकहरूले साधारणसभा बोलाउने र साधारणसभाबाट स्वीकृत गराएपछि मात्रै शेयरधनीलाई लाभांश वितरण गर्नेछन् । लाभांश घोषणा गरिसकेका र वित्तीय विवरण स्वीकृत गरेका तथा स्वीकृतिको चरणमा रहेका बैंकहरूले लाभांश स्वीकृत गराएर वितरण गर्ने तयारी मा रहेका छन् ।
FACEBOOK COMMENTS