काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण कात्तिक १० गते सार्वजनिक गरेको छ । बैंकले यस वर्ष गत वर्षभन्दा ८८ दशमलव ३९ प्रतिशतले खुद नाफा बढाएको छ ।
गत वर्ष पहिलो त्रैमाससम्म रू. १ करोड ७४ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू. ३ करोड २९ लाखभन्दा बढी खुद नाफा गरेको हो । यस वर्ष कम्पनीको सञ्चालन नाफा ५८९ दशमलव २७ प्रतिशतले बृद्धि भएकाले खुद नाफामा समेत उल्लेख्य बृद्धि भएको हो । यस वर्ष कम्पनीले गत वर्षभन्दा १३० दशमलव ७२ प्रतिशत बढी रू. ७ करोड २१ लाखभन्दा बढी खुद ब्याज आम्दानी गरेको छ ।
रू. २८ लाख ९७ हजार खराब कर्जा संकलन गरेको कम्पनीले सम्भावित जोखिम शिर्षकमा गत वर्षभन्दा ६६ दशमलव ७२ प्रतिशत कम रकम छुट्याएका कारण सञ्चालक नाफामा उल्लेख्य बृद्धि भएको हो । गत वर्ष रू. १ करोड ८३ लाखभन्दा बढी सम्भावित जोखिम शिर्षकमा छ्ट्याएको कम्पनीले यस वर्ष रू. ६० लाख ९४ हजार मात्र यो शिर्षकमा रकम छुट्याएको छ ।
१८ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २५ करोड ६९ लाख ८० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि गत वर्षभन्दा १०६ दशमलव ८९ प्रतिशत बढी रू. १६ करोड २१ लाखभन्दा बढी कायम भएको छ । यस वर्ष कम्पनीले २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको छ । यो प्रस्ताव कम्पनीले कात्तिक १३ गते पारित गर्दैछ । कम्पनीले उक्त दिन पाँचौ वार्षिक साधारण सभा बोलाएको छ ।
कम्पनीले यस वर्षको पहिलो त्रैमाससम्म गत वर्षभन्दा ४८ दशमलव ५८ प्रतिशत बढी रू. २ अर्ब ८८ करोड ४८ लाखभन्दा बढी कर्जा सापटी लिएको छ भने ६९ दशमलव ९५ प्रतिशत बढी रू. ३ अर्ब ८५ करोड ६७ लाखभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले गत वर्षभन्दा ७१ दशमलव ३३ प्रतिशत बढी रू. ९३ करोड ६३ लाख ८१ हजार निक्षेप संकलन गरेको छ । गत वर्ष शून्य दशमलव ७ प्रतिशत रहेको निष्क्रिय कर्जा अनुपात यस वर्ष बढेर १ दशमलव ६ प्रतिशत पुगेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. ५१ दशमलव २२ र प्रतिशेयर नेटवर्थ रू. १६३ दशमलव १ रहेको छ ।
FACEBOOK COMMENTS