काठमाडौँ । बाह्र वर्षमाथिका बालबालिकालाई कोरोनाविरुद्धको पहिलो खोप ‘फाइजर’ लगाइने भएको छ । कोभ्याक्स सुविधाअन्तर्गत अमेरिकी सहयोगमा उपलब्ध भएको फाइजर–बायोएनटेकको पहिलो डोज तिहारपछि लगाइने छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार बालबालिकालाई खोप लगाउन काठमाडौँ उपत्यकाका नौ र उपत्यकाबाहिरका १५ गरी २४ वटा अस्पतालमा तयारी थालिएको छ । त्यस्तै कात्तिकको अन्त्यतिर दीर्घरोग भएकालाई समेत खोप दिने जनाइएको छ ।
सहप्रवक्ता डा. अधिकारीका अनुसार फाइजर–बायोएनटेकको एक लाख ६२० डोज नेपाल भित्रिसकेको छ । प्राप्त खोपले १२ वर्षमाथिको उमेर समूहका सबैलाई पुग्दैन । त्यसैले हालका लागि २४ वटा अस्पतालबाट मात्र खोप दिइने जनाइएको छ ।
उनले खोपको निरन्तर आपूर्तिबाट कोभिड–१९ विरुद्धको खोप अभियानलाई विस्तार गरिने समेत बताए । सरकारले सकेसम्म ४० लाख मात्रा मोडर्ना खोप एकै पटक ल्याउने गरी तयारी थालेको समेत सहप्रवक्ता डा. अधिकारीले जानकारी दिए । मोडर्ना खोप तिहारपछि ल्याउने गरी प्रक्रिया अघि बढेको समेत जनाइएको छ ।
उनका अनुसार सम्भवतः सन् २०२१ को अन्त्यसम्ममा खोप ल्याइने छ । केही ढिला भएमा सन् २०२२ को सुरुसम्ममा आउने छ । अन्य खोपको दाँजोमा मोडर्ना र फाइजरजस्ता कोभिड खोपहरू लामो समय भण्डारणका लागि निकै कम तापक्रममा राख्नुपर्छ । मोडर्ना खोप छ महिनासम्म भण्डारण गर्न माइनस २० डिग्री सेल्सियस तापक्रम कायम गर्नुपर्छ तर एक महिनासम्म राख्नका लागि भने अन्य खोपसरह दुईदेखि आठ डिग्रीमै राख्न सकिने विज्ञहरूले जनाएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS