काठमाडौं । सामलिङ्ग पावर कम्पनी लिमिटेडको आइपीओ मंगलवार बाँडफााट भएको छ । शेयर निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा विहान आईपीओ बाँडफाँट भएको हो ।
विक्री प्रबन्धकका अनुसार यस कम्पनीको आईपीओ खरिदका लागि २१ लाख ९८ हजार ७६४ जनाको आवेदन परेको थियो । कुल आवेदकहरुमध्य ९ हजार ९८६ जनाको आवेदन रितपूर्वक नभएकाले रद्द गरिएको विक्री प्रबन्धकले जानकारी दिएको छ । योग्य २१ लाख ८८ हजार ७७८ जना आवेदकहरुलाई एउटै समूहमा राखेर गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँट गर्दा ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।
कम्पनीले ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणमा वितरण जारी गरेको हो । कुल कित्तामध्य २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमार्फत विक्री गरी मंगलवार बाँडफाँट गरेको हो ।
कम्पनीले सर्वसाधारणमा आईपीओ जारी गर्नुअघि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई रू. ५ करोड बराबरको ५ लाख कित्ता शेयर वितरण गरिसकेको छ । सर्वसाधारणका लागि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आईपीओ विक्री गर्न असार ३१ गते बोर्डको अनुमति पाएको कम्पनीले पहिलो चरणमा स्थानियमा शेयर जारी गरिसकेको हो ।
आयोजना प्रभावितहरुका लागि छुट्याएको कुल कित्तामध्य पनि कम्पनीले ईलाम जिल्लाभरीका वासिन्दाहरुका लागि ६० प्रतिशत अर्थात ३ लाख कित्ता र अति प्रभावित क्षेत्र इलामा नगरपालिका वडा नम्बर ८ र १० तथा माईजोगमाई गाउँपालिका वडा नम्बर ४ र ५ का वासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात २ लाख कित्ता शेयर विक्री गरेको हो ।
यस कम्पनीले इलाम जिल्लामा ९ दशमलव ५१ मेगावाट क्षमताको माईबेनी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजना निर्माणका लागि थप पूँजी जुटाउन कम्पनीले आईपीओ जारी गर्न लागेको हो । उक्त आयोजनाको अनुमानित कुल लागत प्रतिमेगावाट २१ करोड ३ लाख ५ हजार रुपैयाँ रहेको छ । हाल कम्पनीको चुक्तापूँजी ३७ करोड ७० लाख रुपैयाँ रहेको छ ।
संस्थापक तर्फ कम्पनीमा ७५ दशमलव ४० प्रतिशत शेयर स्वामित्व कायम रहेको छ । सर्वसाधारणमा कम्पनीले २४ दशमलव ६० प्रतिशत शेयर विक्री गर्न लागेको हो । यसमध्य पनि स्थानियमा १० प्रतिशत र कर्मचारी सहित सर्वसाधारणमा १४ दशमलव ६० प्रतिशत शेयर स्वामित्व रहनेछ । सर्वसाधारणमा आईपीओ विक्रीपछि कम्पनीको चुक्तापूँजी ५० करोड रुपैयाँ पुग्नेछ । आर्थिक वर्ष ०७६/७७ सम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९८ दशमलव ७७ रहेको छ । यो नेटवर्थदेखि तीनगुणासम्मको मूल्य कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि प्राप्त गर्नेछ ।
FACEBOOK COMMENTS