पोखरा कार्तिक १६, पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि गण्डकी प्रदेश सरकारले चासो देखाएको छ । विमानस्थल निर्माण करिब अन्तिम चरणमा पुगेपछि सरकारले आवश्यक पूर्व तयारीका लागि समिति बनाएको हो । विमानस्थल सञ्चालनमा अवरोध हुन सक्ने भन्दै त्यसलाई रोक्न समितिले काम गर्नेछ । पर्यटन मन्त्री मणिभद्र शर्माको संयोजकत्वमा ९ सदस्यीय कमिटी गठन भएको छ ।
गण्डकी सरकारका प्रमुख सचिव, योजना आयोगका उपाध्यक्ष, अर्थ मन्त्रालय र भौतिक पूर्वाधार मन्त्रालय सचिव, उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष र परियोजनाका प्रमुख सदस्य छन् भने पर्यटन मन्त्रालयका सचिवलाई सदस्यसचिवको जिम्मेवारी दिइएको छ ।
समितिले विमानस्थल सञचालनमा ल्याउन देखा परेका समस्या खोज्ने र समाधानको पहल गर्ने सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए । ‘डाँडा काट्नेदेखि ढल व्यवस्थापन र ल्यान्डफिल स्थानान्तरणको समस्या जटिल रुपमा उठेको छ । त्यो समाधान पनि यही समितिले गर्ने छ,’ उनले भने, ‘अरु केही समस्या भए खोजी गर्ने र समाधानको पहल गर्नेछ ।’
FACEBOOK COMMENTS