बुटवल, २८ कात्तिक प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदले आइतबार पनि लुम्बिनी प्रदेशसभाको बैठक अवरुद्ध पारेका छन् ।
निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता शंकर पोखरेलले बोलिसकेपछि एमाले सांसदले बैठक अवरुद्ध गरेका थिए । त्यसपछि सभामुख पूर्णबहादुर घर्तीले आधा घण्टाका लागि स्थगित गरेका थिए । आधा घण्टापछि बसेको दोस्रो बैठकमा प्रतिपक्षी दलको बेन्च खाली भएको भन्दै सोमबार बस्ने गरी बैठक स्थगित गरिएको छ ।
त्यसअघि बोल्दै एमाले संसदीय दलका नेता पोखरेलले पार्टीले कारबाही गरेका दुई जना सांसद कुन दलको हो ? यसबारे निर्वाचन आयोगले भन्नुपर्ने बताए । एमालेले प्रदेशसभा सदस्य विमलाकुमारी खत्री र अजय शाहीलाई कारबाही गरेको थियो । प्रदेशसभाले सांसदलाई दल तोक्दिन नपाउने र त्यो कुरा निर्वाचन आयोगले भन्नुपर्ने पोखरेलको तर्क छ ।
पूर्वमुख्यमन्त्री पोखरेलले एमालेले उठाएका दुई सांसदको कानुनी प्रश्न निरूपण नहुँदासम्म सदन चल्न नदिने बताए । उनले प्रदेशसभाले निर्वाचन आयोग र सर्वोच्च भन्दा बाहिर गएर मनोमानी निर्णय गर्न नसक्ने बताए । संवैधानिक र कानुनी प्रश्नलाई राजनीतिक आँखाले हेर्न नहुने पनि पोखरेलले बताए ।
आफ्नो सरकारका पालामा गरेका नियुक्तिहरू अहिलेको सरकारले परिवर्तन गरेकोमा पनि एमाले नेता पोखरेलले असन्तुष्टि जनाए । प्रदेश पूर्वाधार विकास प्राधिकरण लगायत अन्य नियुक्तिहरू परिवर्तन गरेर सरकारले विकासलाई पछाडि धकेल्न खोजेको उनको आरोप छ ।
प्रत्येक छ महिनामा आयोजनाका प्रमुखलाई परिवर्तन गर्दै जाने हो भने विकासका काम कसरी अगाडि बढ्छन् भन्दै उनले प्रश्न गरे ।
FACEBOOK COMMENTS