काठमाडौं । काठमाडौं महानगरपालिकाले प्लास्टिकजन्य ३३६ थान माला र १४० पुष्पगुच्छा जफत गरेको छ ।
महानगर प्रहरी बलले यसअघि बिक्रीमा रोक लगाएको सूचना विपरित कारोबार गर्ने व्यापारीबाट प्लास्टिकजन्य ३३६ वटा माला र १४० पुष्पगुच्छा जफत गरेको हो ।
महानगर प्रहरी बलकाअनुसार चाबहिल, मैजुबहाल, मच्छिन्द्रबहाल, कोटेश्वर, जयबागेश्वरी, कालीमाटी, नयाँ बसपार्क र धुम्बाराहीलगायत क्षेत्रबाट ती प्लास्टिकजन्य माला तथा सामग्री जफत गरिएको छ ।
सबैभन्दा धेरै सामग्री कोटेश्वर र पानीपुरी चोकबाट जफत गरिएको छ । महानगरपालिकाले तिहारलाई लक्षित गरी स्वदेशी फूलको बिक्री प्रवर्द्धन गर्न ३३ वटा ठाउँ तोकेको छ ।
किसानलाई बजारसम्म सहज पहुँच पुर्याउने र नेपाली उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले बिक्रीस्थल निर्धारण गरिएको हो । महानगरपालिकाले २०८० सालदेखि तिहारमा स्वदेशी फूल बिक्रीका लागि निश्चित ठाउँ उपलब्ध गराउँदै आएको छ ।

स्वदेशी पुष्प व्यवसायको विकासका लागि उत्पादनदेखि बजारीकरणसम्म सहयोग आवश्यक रहेको महानगरको जोड छ ।
