पोखरा मंसिर २,सर्लाहीमा नेपाली कांग्रेसको दुई पक्षका कार्यकर्ताबीच झडप भएको छ । आज बिहीबारका लागि तय भएको वडा अधिवेशनमा निर्वाचन अधिकृत खटाउने विषयमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका कार्यकर्ता र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कार्यकर्ताबीच पार्टी कार्यालय मलङ्गवामा झडप भएको हो । पौडेल पक्षका कार्यकर्ताले निर्वाचन अधिकृत दिवाकरराज पाण्डेसहित जिल्लाका केही नेता तथा कार्यकर्तामाथि हातपात गरेका छन् ।
दुई पक्षीय छलफल भइरहेका बेला सर्लाही क्षेत्र नम्बर ४ का सङ्घीय संसद अमरेशकुमार सिंह समर्थित कार्यकर्ताले निर्वाचन अधिकृतमाथि हातपात गरेको बताइएको छ ।
निर्वाचन अधिकृत पाण्डेले बिहीबार एकपक्षीय रूपमा नामावली सूची सार्वजनिक गरेपछि विवाद भएको थियो । उनीहरूले रातारात निर्वाचन कार्यालय पार्टी कार्यालयबाट सभापति निकट होटेलमा राखेकोमा पनि आपत्ति जनाए ।
कांग्रेसका दुई पक्षीय कार्यकर्ताबीच थप झडप हुने देखेपछि जिल्लाको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ ।
सर्लाहीभरका २० पालिकाको दुई सय वडामा चुनाव गर्ने पूर्वसहमति भएको थियो । सर्लाहीमा आजका लागि तय भएको वडा अधिवेशन दुई पक्षीय विवादका कारण अन्योल भएको छ ।
FACEBOOK COMMENTS