काठमाडौं । दक्षिण अफ्रिकामा हालै भेटिएको कोरोना भाइरस कोभिड–१९ को नयाँ भेरियन्ट ‘बी.१.१ .५२९ बढी जोखिमपूर्ण भएको र एसबाट २२ जना संक्रमित भएको वैज्ञानिकहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपतकालीन बैठक बोलाएको छ भने बेलायतले ६ वटा अफ्रिकी मुलुकबाट हुने हवाई उडान अस्थायी रुपमा बन्द गरेको छ ।
नयाँ भेरियन्ट हङकङ र बोत्स्वानामा समेत फेला परेको छ । इजरायलमा मलाबीबाट आएका एक यात्रुमा समेत नयाँ भेरियन्ट पुष्टि भएको सञ्चार माध्यमहरुले जनाएका छन् । वैज्ञानिकहरूका अनुसार दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टमा पटक–पटक एउटै प्रकारको म्युटेसन हुने ‘मात्रा अस्वभाविक’ देखिएको छ ।
म्युटेसनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने चिन्ता वैज्ञानिकहरुको छ । केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर पत्ता लाग्ने वैज्ञानिकहरुले बताएका छन् । नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डी ओलिभियराले म्युटेसनको क्षमता निकै उच्च रहेकाले कारण पुनः संक्रमण देखिएको बताएका छन् ।
FACEBOOK COMMENTS