काठमाडौं । सरकारले बैंक तथा वित्तीय संस्थाहरूमा कृषिक्षेत्रलाई प्राथमिकता प्राप्त क्षेत्र भन्दै अनिवार्य कर्जा लगानीको व्यवस्था गरे पनि व्यवहारतः तथ्यांकीय चलखेल बढी भएको उद्यमीहरूले बताएका छन् ।
सरकारले कुल कर्जा प्रवाहमा कृषिक्षेत्रमा १० प्रतिशत अनिवार्य कर्जा लगानी गर्न भनेको छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले चामल, तेल र दाल उद्योगमा १५ प्रतिशत चर्को ब्याजदरमा दिएको कर्जालाई समेत कृषिमा गरेको लगानी देखाएर तथ्यांकीय चलखेल गरेको उद्यमीले बताए ।
नेपाल चामल तेल दाल उद्योग संघका पदाधिकारीहरूले अर्थसचिव मधुकुमार मरासिनी, उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रेमकुमार श्रेष्ठसँग बेग्लाबेग्लै भेटेर बैंकहरूको यस्तो मनोमानीमा सरकारसमेत रमिते बनेको गुनासो गरेका हुन् । यस्ता उद्योगलाई प्राथमिकताका आधारमा सहुलियत कर्जा उपलब्ध गराइनुपर्ने माग पनि उद्यमीको छ ।
तथ्यांकीय चलखेल गर्ने बैंकहरूलाई तत्काल कारबाहीको दायरामा ल्याएर कृषिमा आधारित उद्योगमा लगानी अनिवार्य गर्नुपर्ने माग उद्यमीले गरेका छन् । संघका अध्यक्ष डा। सुबोधकुमार गुप्ताले मंगलवार प्रेस विज्ञप्ति जारी गरेर उक्त जानकारी दिएका हुन् ।
बैंकले चामल, तेल र दालजस्ता कृषिमा आधारित उद्योगमा सहुलियतपूर्ण ऋण दिनुपर्ने माग गरे । ‘कि त बैंकहरूले यस्ता उद्योगमा लगानी गर्नुप¥यो, होइन भने यी उद्योगमा चर्को ब्याजदरमा गरिएको कर्जालाई देखाएर झुक्याउने काम बन्द गर्नुपर्छ,’ अध्यक्षले भने ।
उद्यमीले सरकारी अधिकारीहरूसँगको भेटमा चामल उद्योगको संरक्षणका लागि धान आयातमा लाग्दै आएको ५ प्रतिशत शुल्कलाई १ प्रतिशतमा झार्नुपर्ने माग राखेका छन् । चामलको आयातमा भन्सार बिन्दुमा लिइने ८ प्रतिशत शुल्कलाई १५ प्रतिशत पु¥याउन पनि उनीहरूको आग्रह छ ।
नेपालबाट बासमती चामलको निकासी खुला गर्नुपर्ने पनि उनीहरूले बताए । नेपालमा आयात हुने खाद्यवस्तुको अधिकतम मूल्य र गुणस्तर जाँच गरी उत्पादनमा आयातकर्ताको नाम, ठेगाना, उत्पादनको उपभोग्य मितिलगायत स्पष्ट खुलाउने व्यवस्था मिलाउन पनि आग्रह गरिएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS