काठमाडौं । नेपाल इकरात इन्जिनियरिङ कम्पनी निक ले केही हप्तामै नेपाल विद्युत् प्राधिकरणलाई नयाँ वितरण ट्रान्सफर्मरको आपूर्ति थाल्दैछ । हेटौंडामा निकको कारखानाले लामो समयपछि नेपालमै आफ्नो उत्पादन बेच्ने अवसर पाएको हो ।
नेपाल विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार निकको ट्रान्सफर्मरले नेपालभित्र बजार पाएको करिब १३ वर्षपछि मात्रै हो । २९ वर्ष पुरानो कम्पनी निकका ट्रान्सफर्मर बंगलादेश र भुटनमा पुगिरहे पनि विद्युत प्राधिकरणले निकाल्ने टेन्डरमा निक सफल हुन सकेको थिएन ।त्यसका कारण निकले प्राधिकरणलाई ट्रान्सफर्मर बेच्न पाएन भने विदेशबाट आयात हुने ट्रान्सफर्मरमा मात्रै वितरण प्रणाली निर्भर बन्ने अवस्था आएको थियो ।
यसवर्ष दुई पटकका टेन्डरमा निक सफल भएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख मनोज सिलवालले बताएका छन्। निकले करिब एक अर्ब ६० करोडमा ठेक्का हात पारेको हो । अहिले प्राधिकरणको प्रणालीमा करिब ३७ हजार वितरण ट्रान्सफर्मरहरु छन् । त्यसमध्ये करिब १० हजार निककै रहेको अनुमान छ ।
FACEBOOK COMMENTS