मुगु । हिमाली जिल्ला मुगुका अग्नि पीडित तथा अन्य नागरिकलाई नेपाल प्रहरीले एक दिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
प्रहरी प्रदेश कार्यालय सुर्खेतको आयोजना तथा जिल्ला प्रहरी कार्यालय मुगुको समन्वयमा सोमबार जिल्ला सदरमुकाम गमगढीमा यहाँका स्थानीयका लागि शिविर सञ्चालन गरिएको हो । पछिल्लो समय हिमाली जिल्लामा चिसो बढेसँगै चिसोजन्य रोग फैलिने र सर्वसाधारण ती रोगबाट ग्रसित हुने सिजन भएकाले केही स्वास्थ्यमा सुधार होस भनेर स्वास्थ्य शिविर सञ्चालन गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।
कार्यालयका अनुसार गत कात्तिक २९ गते सदरमुकाम गमगढीको तल्लो बजारमा आगलागी भएर घर जलेका र त्रिपाल मुनि रात कटाई रहेका आगलागी पीडित परिवारहरूको समय मै निस्शुल्क चेकजाँच तथा औषधि वितरण गरिएको जनाइएको छ ।
दुर्गममा रहेका स्थानीय नागरिक, गएको कार्तिक २९ गते आगलागी पीडित भएका ८१ जना, जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत सुरक्षाकर्मी, भूतपूर्व प्रहरीलगायत अन्य नागरिक गरी जम्मा २ सय ६९ जनाको स्वास्थ्य परीक्षण गरिएको मध्ये बढी मात्रा श्वासप्रश्वास, हाडजोर्नी, दम, पाठेघर समस्या, ग्यास्ट्रिक, छाला रोग सम्बन्धी समस्या भएका बिरामीहरू देखा परेको शिविरमा खटिएका प्रहरी निरीक्षक डा। शत्रुधन बहरदारले बताएका छन् ।
शिविर सञ्चालनका लागी प्रहरी प्रदेश कार्यालय सुर्खेतबाट प्रहरी निरीक्षक जगदीश प्रसाद भट्ट, डा. शत्रुधन बहरदार, कैलाश सुबेदी र प्रज सुनिल योगीको स्वास्थ्यकर्मी टिम आएको जिल्लाप्रहरी कार्यालय मुगुकाप्रहरी नायवउपरीक्षक सुवास हमालले जानकारी दिए ।
FACEBOOK COMMENTS