काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा सभापतिमा संस्थापन इतरपक्षकै चार जनाबीच कुनै सहमति नहुने देखिएपछि हालका सभापति शेरबहादुर देउवालाई पुनः सभापतिमा जित हात पार्न सहज देखिएको छ । यद्यपि, संस्थापन इतरका नेताहरू अन्तिम समयसम्म पनि एकजुट हुँदै देउवालाई कडा टक्कर दिने गृहकार्यमा जुटेका छन् ।
काग्रेसको १४औं महाधिवेशनमा सभापतिमा उठ्ने घोषणा गरेका नेता शेखर कोइराला भने पार्टीमा आमूल रूपान्तरणका लागि आफूले सभापतिमा उम्मेदवारी दिएकाले आफ्नो जित हुने दाबी गरेका छन् । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग अन्तक्र्रिया गर्दै कांग्रेस नेता कोइरालाले संस्थापन इतरका चार नेताहरू एकजुट हुने हो भने देउवालाई सभापतिमा सजिलैसँग पराजित गर्न सकिने बताए ।
हालसम्म कांग्रेसमा संस्थापन इतर पक्षका शेखरलगायत रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । तर, उनीहरू चार जनाबीच सहमति खोज्ने प्रयासलाई तीव्रता दिइएको नेता कोइरालाले जानकारी दिए ।
‘हामी चार जनाबीच सहमति जुटाएर एक जनालाई मात्रै सभापतिको उम्मेदवार बनाउने गृहकार्यलाई तीव्रता दिएका छौं’ कोइरालाले सम्पादकसँगको छलफलमा भने । कोइरालाले नेपाली राजनीतिमा नैतिकता र इमानदारिताजस्ता विषय ओझेलमा पर्दै गएकाले आफूले सभापतिमा जितेमा राजनीतिलाई नैतिक र इमानमा चल्ने बनाउने स्पष्ट पारे ।
उनले अहिले देशभरका कार्यकर्ता र प्रतिनिधिहरूले आफूलाई सभापतिमा उठ्न सुझाव दिएकाले कार्यकर्ता र प्रतिनिधिको भावनाअनुसार नै सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको जानकारी दिए । ‘म कमजोर छैन, निर्वाचनमा मेरो जित सुनिश्चित छ त्यसैले अन्य तीन जनाले आफूलाई छोडिदिनुपर्नेमा उनको जोड रहेको आजको राजधानी दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS