काठमाडौं । कांग्रेस सभापति पदको पहिलो चरणको मतदानको नतिजा आउन बाँकी नै थियो। सभापतिका प्रत्याशी शेरबहादुर देउवाका दूत बनेर चाक्सिबारी पुगे गृहमन्त्री बालकृष्ण खाँण। खाँणले दोस्रो चरणको निर्वाचनमा सहयोग गर्न अर्का उम्मेदवार प्रकाशमान सिंहसमक्ष आग्रह गरे।
पहिलो चरणबाट निर्वाचित हुन आवश्यक मत नपुग्ने आकलनपछि मंगलबार बिहान ९ बजेतिर खाँण सिंह निवास पुगेका हुन्। सोमबार भएको मतदानको नतिजा भने मंगलबार बिहान १० बजे आएको थियो। खाँणसँगको भेटमा सिंह सकारात्मक बनेपछि देउवा पनि उनलाई भेट्न पुगे। देउवासँगको भेटमा सहयोग गर्ने सिंहको बचनपछि कांग्रेसको जारी १४औं महाधिवेशनमा तरंग पैदा भयो।
देउवालाई पहिलो चरणबाटै सभापति निर्वाचित हुन जम्मा ८२ मत अपुग भएको थियो। सिंहको समर्थनले मात्र पनि दोस्रो चरणमा जित्न सकिने देउवा पक्षको बुझाइ थियो। पहिलो चरणमा देउवाले २ हजार २ सय ५८ मत पाए। दोस्रो स्थानमा रहेका डा. शेखरप्रसाद कोइरालाले १ हजार ७ सय २ मत पाए। सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ४९ र कल्याणकुमार गुरुङले २२ मत पाएका थिए।
पहिलो चरणमा कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसके सभापतिका लागि दोस्रो चरणको निर्वाचन हुने कांग्रेसको विधानमा व्यवस्था छ। सबैभन्दा बढी मत ल्याउने दुई प्रत्याशीबीच पुनस् मतदान गराउनुपर्ने व्यवस्थाअनुसार देउवा र डा. कोइरालाले मात्र दोस्रो चरणको प्रतिस्पर्धा गर्ने मौका पाए। लगत्तै दोस्रो चरणमा जान नपाएका सिंह र निधिको समर्थन जुटाउन देउवा पक्ष सक्रिय बनेको थियो।
सिंहको समर्थनलगत्तै देउवा निधि भेट्न उनकै निवास पुरानो बानेश्वर पुगे। निधिले पनि देउवालाई नै समर्थन जनाए। दोस्रो चरणमा देउवालाई साथ दिने सिंह र निधि विगतमा पार्टी विभाजित भई बनेको कांग्रेस प्रजातान्त्रिकमा सँगै थिए। तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँग मतभेद भएपछि देउवाको नेतृत्वमा ०५९ सालमा कांग्रेस प्रजातान्त्रिक बनेको थियो। देउवा, सिंह र निधि प्रजातान्त्रिक कांग्रेसमै थिए। तर, १३औं महाधिवेशनपछि सिंह वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा थिए। उनी उक्त समूहमा असन्तुष्ट भई सभापतिका उम्मेदवार बनेका थिए। निधि देउवासँग चिढिएर १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार बनेको आजको अन्नपूूर्ण पोष्ट दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS