काठमाण्डौँ — सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोक जोड्ने विद्युतीय मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन तयार गर्न १९ परामर्शदाताले इच्छा जाहेर गरेका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रेल विभागले डीपीआर तयार गर्न माग गरेको आशय पत्रमा १९ परामर्शदाताले इच्छा देखाएका हुन्।
विभागका इन्जिनियर किरण कार्कीका अनुसार, आशय पत्र पेश गर्ने सबै परामर्शदाता विदेशी भएको बताए।
चीन, जापानलगायत यूरोपियन मुलुकका परामर्शदाताबाट प्रस्ताव परेको उनले जानकारी दिए।
विदेशी परामर्शदातासँग केही नेपालीले पनि ज्वाइन्ट भेन्चरमा प्रस्ताव पेश गरेका छन्।
सातदोबाटो–नारायणगोपाल चोकसम्म १२ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गर्ने परामर्शदाता खोज्न माघ १२ गते विश्वव्यापी बोलपत्र आह्वान गरिएको थियो।
बोलपत्रमा प्राविधिक त्रुटि भेटिएकाले विभागले १६ गतेलाई अन्तिम दिन तोकेको थियो।
सूचीकृत भएका परामर्शदातामध्ये प्राविधिक रूपमा सवल देखिएकाको आर्थिक प्रस्ताव खोलिने छ।
न्युन आर्थिक प्रस्ताव पेश गर्ने परामर्शदाताले डीपीआरको जिम्मा पाउनेछ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS