काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जालाई कडाइ गर्ने उद्देश्यसहित मार्गदर्शन बनाएको छ । राष्ट्र बैंकले आइतवार आवश्यक रायसुझाव दिन सरोकारवालालाई आग्रह गरेको छ ।
विशेषगरी चालू पूँजी कर्जालाई नियन्त्रण तथा व्यवस्थित गर्ने उद्देश्यसहित उक्त मार्गदर्शन लागू गर्न लागिएको हो । बैंकहरूले यस्तो प्रकारको कर्जा आफूखुशी प्रवाह गर्दै आएका छन् । साथै, पछिल्लो समय यस्तो कर्जा प्रवाह उल्लेख्य रूपमा बढ्दै गएको छ । फलस्वरूप यसलाई आवश्यक नियन्त्रण गर्न देखिएपछि मागदर्शन नै जारी गर्न लागिएको हो ।
राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले चालू पूँजी कर्जालाई व्यवस्थीत गर्ने गरी मार्गदर्शन बनाएको बताए । ‘बैंकहरूले आफ्नै ढंगले चालू पूँजी कर्जा प्रवाह गर्दै आएका छन् । जुन कर्जा अत्यधिक मात्रामा प्रवाह हुँदै पनि आएको देखिन्छ,’ उनले भने, ‘त्यो अवस्थामा राष्ट्र बैंकले नै यसलाई आवश्यक नियन्त्रण गर्नुपर्ने देखियो । त्यसैले चालू पूँजी कर्जामा एकरूपता ल्याउने उद्देश्यसहित पनि यस्तो मार्गदर्शन लागू गर्न लागिएको हो ।’ अब सरोकारबाट आएका सुझावहरूको आधारमा मार्गदर्शनको मस्यौदालाई आवश्यक संशोधन गरेर लागू गरिने उनको भनाइ छ ।
विशेषगरी छोटो अवधिका लागि प्रवाह गरिने कर्जा नै चालू पूँजी कर्जा हो । हालसम्म बैंकहरूले आफ्नै ढंगले यस्तो कर्जा प्रवाह गर्दै आएका छन् । यसमा राष्ट्र बैंकको प्रत्यक्ष रूपमा कुनै हस्तक्षेप थिएन । फलस्वरूप यस्तो कर्जामा एकरूपता पनि थिएन । त्यसमाथि यस्तो कर्जाको दुरुपयोग पनि हुने गरेको थियो । अब यस्तो कर्जामा एकरूपता ल्याउने राष्ट्र बैंकको उद्देश्य छ । साथै, यसको सदुपयोग पनि हुने गरी मार्गदर्शन लागू गरिने राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंकले चालै पूँजी कर्जा सम्बन्धमा लागू गर्न लागेको यो पहिलो मार्गदर्शन भएको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS