काठमाडौं । बीमाको दररेट वृद्धि र नयाँ शर्तहरूसम्बन्धी निर्देशिका विकास विरोधी भएको निर्माण व्यवसायी र ऊर्जा उत्पादकहरूले बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासंघ र स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले यी विषय विकास विरोधी भएको भन्दै पुस १७ गतेसम्म अविलम्ब खारेज नभए पुस १८ गतेबाट आन्दोलन थाल्ने चेतावनी दिएका छन् ।
महासंघ र इपान नेपालको संयुक्त प्रतिनिधिमण्डले आइतवार प्रधानमन्त्री शेरबहादुर देउवा र बीमा समितिलाई संयुक्त ज्ञापनपत्र बुझाउँदै यस्तो माग राखेका हुन् । प्रतिस्पर्धाबाट वस्तु तथा सेवाको मूल्य तोक्नुपर्नेमा बीमा समितिले गत असोज ६ गते सबै निर्जीवन बीमा कम्पनीहरूका लागि भनेर जारी गरेको निर्देशिकाप्रति महासंघ र इपानले आपत्ति जनाएका हुन् ।
यस प्रकृतिको निर्देशिकाबाट बीमाको आधारभूत अवधारणा नै औपचारिकतामा सीमित गराउने कार्य भएको हुँदा, निर्देशिका बीमाको सिद्घान्त विपरीत रहेको महासंघ र इपानको ठहर छ ।
निर्देशिका निजीक्षेत्रलाई निरुत्साहित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा बाधा उत्पन्न गर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ‘सरोकारवाला निकायहरूसँग कुनै छलफल नगरी अत्यधिक प्रिमियम वृद्धि गरी जारी गरिएको निर्देशिकाले नेपालको ऊर्जाक्षेत्र र निर्माण उद्योगलगायत निजीक्षेत्र चौपट हुने निश्चित प्रायः छ,’ ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
महासंघका अध्यक्ष रवि सिंह र इप्पानका अध्यक्ष कृष्णप्रसाद आचार्यको हस्ताक्षरमा जारी ज्ञापनपत्रमा निर्देशिकाले व्यावसायिक लागतलाई उच्च बनाएको उल्लेख रहेको आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।
FACEBOOK COMMENTS