काठमाडौं । नेपालका लागि हुन्डाइ गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाइ ओपन गल्फ टुर्नामेन्ट २०२२’ आज शनिबार सम्पन्न गरेको छ ।
हिजो शुक्रबार र आज शनिबार गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित १०औं संस्करणको उक्त प्रतियोगितामा गल्फ खेलाडी कृष्ण पुनले ४३ स्टेबलफोर्ड अंकका साथ उपाधि जितेका छन् ।
११ ह्यान्डी क्याप खेलेका कृष्ण र बाबु पौडेलको समान ४३ अंक भए पनि काउन्ट ब्याकमा कृष्ण विजयी भएका हुन् । काउन्ट ब्याकमा कृष्णले २१ अंक जोडेका थिए भने बाबुले २० अंक जोडेका थिए । बाबु प्रतियोगिताको उपविजेता बने ।
नेपाल पुलिसका एसएसपी अशोक सिंहले तेस्रो स्थान हासिल गरे । अशोकले ४२ अंक जोडेका थिए ।
त्यस्तै बेस्ट ग्रसमा टासी दोङ, टासी छिरिङ र वाङचेन धोन्डुपले समान ३६ अंक जोडे । काउन्ट ब्याकमा टासी दोङले बेस्ट ग्रसको उपाधि जिते । काउन्ट ब्याकमा दोङले १९ अंक जोडेका थिए भने छिरिङ र धोन्डुपले समान १७ अंक जोडेका थिए ।
मेजर जनरल नरेन्द्र रावलले ६० वर्षमाथि उमेर समूहको उपाधि जिते । उनले ३९ अंक जोडेका थिए । दोस्रो स्थानमा रहेका भैरवराज पाण्डेले ३८ अंक जोडेका थिए । महिलातर्फको उपाधि भने प्रतिभा राईले जितिन् । राईले ३८ अंक जोडेकी थिइन् । दोस्रो स्थानमा हासिल गर्न सफल कश्मिरा शाहले ३७ अंक जोडिन् ।
हुन्डाई कार वनर्स स्पर्धामा श्याम सिमखडाले ३७ अंक जोड्दै उपाधि जिते । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दी पिनको उपाधि जिते । त्यस्तै, लङ्गेस्ट ड्राइभको उपाधि दावा जे शेर्पाले जिते । क्याप्टेन नोर्बु शेर्पाले मोस्ट बर्डिजको उपाधि जिते । शेर्पाले सबभन्दा धेरै ५ बर्डिज खेलेका थिए ।
१८ होलमा स्टेबल फोल्ड कर्म्याटमा ३ बाई ४ ह्यान्डिक्यापमा खेलाइएको उक्त प्रतियोगितामा १५५ जना गल्फर्सले प्रतिस्पर्धा गरेका थिए ।
हुन्डाइले विश्वभर नै गल्फ खेलको विकास र प्रवर्द्धन गर्ने हेतुले विभिन्न गल्फ प्रतियोगिता प्रायोजन गर्दै आएको लक्ष्मी इन्टरकन्टीनेन्टलका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए । जसमध्ये ‘पीजीइ टुर’ को ‘टुर्नामेन्ट अफ द च्याम्पियन्स’ एक विश्व प्रतिष्ठित टुर्नामेन्ट भएको उनको भनाइ छ ।
विगत ९ वर्षदेखि नेपालमा नियमित रूपमा गल्फ प्रतियोगिता गर्दै आएको कम्पनीले गत वर्ष कोरोना भाइरसको महामारीका कारण गर्न नसकेको अध्यक्ष श्रेष्ठको भनाइ छ । आगामी दिनमा यसलाई निरन्तरता दिइने उनले जानकारी दिएका छन् ।
FACEBOOK COMMENTS