काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले उद्योगहरूमा विद्युत् आपूर्ति सहज बनाउन मुश्किल परिरहेको बेलामा उद्योगीहरूले भने आफूमाथि राजनीति गर्न थालेको आरोप लगाएकी छिन् ।
पछिल्लो समय बारम्बार विद्युत् कटौती हुन थालेपछि सम्पूर्ण उद्योगहरू प्रभावित बनिरहेका छन् । विद्युत् कटौतीकै कारण उद्योग तथा कलकारखानाहरू चलाउन नसकेर आजित बनेका उद्योगीहरू हिजो सोमबार ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसाल र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफलका लागि बैठकमा बसेका थिए । तर, उद्योगहरूमा विद्युत् आपूर्ति सहज गरिदिन आग्रह गर्दै बैठकमा सहभागी उद्योगीहरूप्रति मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङले सकारात्मक व्यवहार भने देखाएनन् ।
आपूर्ति प्रणालीमा आएको पछिल्लो समस्या सामान्य भएको बताउँदै मन्त्री भुसालले यही विषयलाई लिएर आफूमाथि राजनीति नगर्न उद्योगी–व्यवसायीहरूलाई चेतावनी दिइन् । विश्वव्यापी रूपमा कोइला सङ्कटका कारण विद्युत् उत्पादनमा आएको कमीको असर नेपालमा समेत देखिएको भन्दै परिस्थितिलाई बुझिदिन मन्त्री भुसालले उद्योगीहरूलाई आग्रह गरिन् । मन्त्रीको यस्तो ब्रिफिङ सुनेपछि उद्योगी–व्यवसायीहरूले आपूर्तिमा समस्या देखिएको भएर लोडसेडिङ तालिका सार्वजनिक गरेर सहजीकरण गरिदिन आग्रह गरेका थिए ।
उद्योगीहरूको यस्तो आग्रह सुन्नेवित्तिकै बैठकमा सहभागी मन्त्री भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले एकै स्वरमा ‘तपाइँहरूलाई लोडसेडिङ चाहिएको हो कि वर्तमान ऊर्जा सङ्कटको समाधान ?’ भन्दै हप्काए । विद्यमान कठीन परिस्थिति बुझेर पनि उद्योगीहरूले लोडसेडिङको तालिका मागेर आफूहरूलाई असहयोग गरेको आरोप मन्त्री भुसाल र कार्यकारी निर्देशक घिसिङको छ ।
बैठकमा उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले उद्योगहरूमा अनियमित रूपमा विद्युत् कटौती भएको भन्दै लोडसेडिङ तालिका सार्वजनिक गर्न मन्त्रीसमक्ष आग्रह गरेका थिए । स्रोतका अनुसार प्याकुरेलको यो आग्रह सुनेपछि आक्रोशित हुँदै मन्त्री भुसालले भनिन् ‘तालिका–सालिका आउँदैन, भोलिदेखि नै विद्युत् आपूर्ति सहज हुन्छ, अब त खुशी हुनुहुन्छ नि !’ तर, उद्योगीहरूले मन्त्रीको कुरामा विश्वास गरेका छैनन् । आफूमाथि कथित राजनीति भएको आरोप लगाउँदै मन्त्री भुसालले दिएको ठाडो जवाफमा कोही पनि व्यवसायी सन्तुष्ट र आशावादी नरहेको एक उद्योगीले कर्पोरेट खबरलाई बताए ।
वर्तमान विद्युत् सङ्कट आफूहरूको कारण नभइ विश्वव्यापी समस्या भएको तथा केही दिनमै सहज हुने मन्त्री भुसालको भनाइ छ । सरकारले हरप्रयन्त गर्दा पनि समस्या समाधान हुन नसकेको भन्दै उनले भनिन्, ‘छोटो समयका लागि देखिएको सामान्य समस्यालाई लिएर तपाइँहरू राजनीतिकरण गर्न नखोज्नुहोस् । यसबाट परिणाम राम्रो आउँदैन ।’
बैठकमा विद्युत् प्राधिकरणका कुलमान घिसिङले पनि वर्तमान समस्या सामान्य भएकाले नआत्तिन व्यवसायीहरूलाई आग्रह गरेका छन् । अहिलेको समस्या दुई–चार दिनमै सहज हुने घिसिङको भनाइ थियो । लोडसेडिङको तालिका माग्ने व्यवसायीहरूलाई समस्याको समाधान माग्न पनि घिसिङले अनुरोध गरेका छन् ।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा उद्योगी–व्यवसायीहरू सहभागी थिए ।
FACEBOOK COMMENTS