काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहसहित सदस्यहरूलाई आगामी शुक्रबारसम्ममा पदमुक्त गर्ने सिफारिस गर्न छानबिन समितिलाई ठाडो निर्देशन दिएकी छिन् ।
आयोगका अध्यक्ष र सदस्यहरूलाई सोधिएको स्पष्टीकरणबाट जे–जस्तो जवाफ आए पनि पदमुक्तको सिफारिस गर्न उनले छानविन समितिलाई दबाबसहितको निर्देशन दिएको मन्त्रालय स्रोतको दाबी छ । अध्यक्ष सिंहसहित आयोगका सदस्यहरूलाई पदमुक्त गर्नका लागि समितिले दुईपटक स्पष्टीकरण सोधिसकेको छ ।
समितिले दोस्रोपटक फागुन २ गते (गत सोमबार) पुनः स्पष्टीकरण सोधेको छ । यसअघिको स्पष्टीकरणबाट पदमुक्त गर्नपर्ने कारण नदेखिएकाले पुनः अर्को स्पष्टीकरण सोधिएको बताइएको छ । अघिल्लो पटक सोधिएको स्पष्टीकरणको प्रतिवेदनका आधारमा आयोगका अध्यक्ष र सदस्यहरूलाई पदमुक्त गर्ने आधार नभेटिएपछि मन्त्री भुसालले पुनः स्पष्टीकरण सोध्न समितिलाई दबाब दिएको मन्त्रालय स्रोत बताउँछ ।
समितिले अघिल्लोपटक मन्त्रीलाई बुझाएको छानबिन प्रतिवेदनमा अध्यक्ष सिंहको नेतृत्वमा रहेको आयोगले आर्थिक वर्ष २०७६/७७ मा ९० प्रतिशत, २०७७/७८ मा ९४ प्रतिशत र २०७८/७९ को पाँच महिनामा ७२ प्रतिशत प्रगति गर्न सक्षम भएको उल्लेख छ । उक्त प्रगति विवरणलगायत तथ्यहरूलाई आधार मानेर आयोगका पदाधिकारीहरूलाई पदमुक्त गर्न नसकिने राय समितिको छ । तर, मन्त्री भुसालको नियत जसरी पनि उनीहरूलाई हटाउनु रहेकाले अर्को स्पष्टीकरण सोधेर पदमुक्त गर्ने आधारसहितको प्रतिवेदन तयार गर्न छानविन समितिलाई दबाब दिएकी हुन् ।
मन्त्रीको तीव्र दबाबमा परेको छानविन समितिले मन्त्रीकै आशयअनुसारको प्रतिवेदनसमेत तयार पारिरहेको बताइएको छ । बहालवाला पदाधिकारी र प्रमुखहरू हटाएर उनले आफ्नो अनुकुलको मानिसहरूलाई नियुक्ति दिँदै आएकी छिन् । त्यसो त नेपाल विद्युत् प्राधिकरणको बैठकमा समेत आफ्नो निजी सचिवालयका कर्मचारीलाई राखेर आलोचना खेपिरहेकी मन्त्री भुसाल अन्य धेरै नियुक्ति प्रक्रियाहरूमा पनि विवादित बन्दै आएकी छिन् ।
मन्त्री भुसाल नेपालको समग्र ऊर्जा क्षेत्रमाथि आफ्नोमात्र दबदबा कायम गर्न लागि परेकी ऊर्जामन्त्रीका रूपमा परिचित बन्दै गएकी छिन् । उनको यो कार्यशैलीका कारण शेरबहादुर देउवा नेतृत्वको सरकार नै आलोचित बन्दै गइरहेको छ ।
पम्फा भुसाल ऊर्जामन्त्रीमा नियुक्त भएसँगै भुसालले नेपाल विद्युत् प्राधिकरणकाका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई विनाकसुर हटाएर कुलमान घिसिङलाई ल्याएकी छिन् । त्यस्तै उनले विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहलाई हटाएर आफ्नो अनुकुलको व्यक्तिलाई जिम्मेवारी प्रदान गरिसकेकी छिन् । अहिले विभागको महानिर्देशकको जिम्मेवारीमा सन्दिप कुमार देव छन् ।
त्यस्तै उनले जलविद्युत् विकास तथा लगानी कम्पनी (एचआईडीसीएल)का सीईओ अर्जुन कुमार गौतमलाई पनि हटाउने तयारी गरिरहेको स्रोतको दाबी छ । सोही अनुसार विद्युत् नियमन आयोगका अध्यक्षसहित सदस्यहरूलाई पनि जुनसुकै शर्तमा हटाउनै पर्ने योजनामा उनी छिन् । त्यसकारण सोही अनुसारको प्रतिवेदन तयार गर्न समितिलाई अह्राएकी हुन् ।
आयोगका अध्यक्षसहितका पदाधिकारीहरू हटाउने उद्देश्यअनुसार मन्त्री भुसालकै अगुवाइमा एउटा छानविन समिति गठन गरिएको छ । अध्यक्ष सिंहसहित आयोगका सदस्य रामेश्वर कलवार, भागिरथी ज्ञवाली र पूर्वसदस्य रामप्रसाद खतिवडामाथि छानबिन गर्न भन्दै पुनरावेदन अदालतका पूर्वमुख्यन्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।
यो पनि पढ्नुहोस्–
FACEBOOK COMMENTS