काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडीसीएल)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमलाई पदबाट हटाउने तयारी गरेकी छिन् ।
नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग र विद्युत् नियमन आयोगलगायतका प्रमुख तथा पदाधिकारीहरू हटाउने अभियानमा रहेकी मन्त्री भुसालले एचआईडीसीएलका सीईओलाई पनि हटाउने योजना बनाइरहेकी हुन् ।
मन्त्री नियुक्त भएसँगै भुसालले नेपाल विद्युत् प्राधिकरणकाका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्यलाई विनाकसुर हटाएर कुलमान घिसिङलाई ल्याएकी छिन् । त्यस्तै उनले विद्युत् विकास विभागका महानिर्देशक नवीन सिंहलाई हटाएर आफ्नो अनुकुलको व्यक्तिलाई जिम्मेवारी प्रदान गरिसकेकी छिन् । अहिले विभागको महानिर्देशकको जिम्मेवारीमा सन्दिप कुमार देव छन् ।
त्यसैगरी मन्त्री भुसालले विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहसहितका पदाधिकारीहरूलाई हटाउनका लागि अनेक प्रपञ्च गरिरहेकी छिन् । तर, विभिन्न कानुनी र व्यावहारिक अड्चनका कारण यो अभियानमा उनले हालसम्म सफलता पाउन सकेकी छैनन् । यसैबीच उनले एचआईडीसीएलका सीईओ गौतमलाई पनि हटाउने तयारी गरेकी हुन् ।
मन्त्रालय मातहतका सबै निकायहरूमा आफ्नो अनुकुलका व्यक्तिहरूलाई स्थापित गर्ने र समग्र जलविद्युत् क्षेत्रलाई आफ्नो कब्जामा पार्ने रणनीति अनुसार मन्त्री भुसालले एकलौटीरूपमा यस्तो अभियान थालेको मन्त्रालय स्रोतको दाबी छ ।
यद्यपि, सीईओ गौतमलाई हटाउने कुरामा मन्त्रालयका सचिव देवेन्द कार्कीले असहमति प्रकट गरेपछि त्यो प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतले बताएको छ । मन्त्रालयका सचिव कार्की जलविद्युत् लगानी तथा विकास कम्पनीका अध्यक्ष हुन् ।
पछिल्लो समय नेपालको जलविद्युत् क्षेत्रलाई आफ्नो अनुकुलको बनाउन उनले देखाएको यो अस्वाभाविक र अव्यवहारिक रणनीतिक व्यवहार रहस्यमयी रहेको जानकारहरू बताउँछन् ।
FACEBOOK COMMENTS