काठमाडौँ । झापामा शनिबार देखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनोट सुरु भएको छ ।
झापा जिल्ला खेलकुद विकास समितिको आयोजनामा मेची रङ्गशालामा खेलाडी छनोट प्रतियोगिता छनोट सुरु भएको हो । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन यहाँबाट छनोट हुने खेलाडीले प्रदेशस्तरीय खेलाडी छनोट भाग लिन पाउने छन् ।
कार्यक्रममा प्रदेश नं १ को खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेले खेलकुद क्षेत्रलाई कुनै पनि सरकारले प्राथमिकतामा नराखेको गुनासो गरे । “खेलकुदको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको नाम उच्च बनाउन सकिन्छ”, उनले भने, “तर नेपाली खेलकुद खेलाडी र खेलप्रेमीहरूको सहयोगले मात्र मात्र टिकेको छ ।”
त्यस्तै नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं १ का अध्यक्ष टीकाराज ढकालले खेलकुद क्षेत्रमा राज्यले निजी क्षेत्रलाई साथ लिएर अघि बढे खेलकुदको विकासमा फड्को मार्न सकिने औँल्याए ।
समितिका अध्यक्ष भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न छनोट प्रक्रियालाई पनि प्रतियोगितात्मक बनाइएको बताए । उनले जिल्लाभरका नौ सय खेलाडी छनोट प्रतियोगितामा प्रतिस्पर्धा गर्ने जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत कुस्ती, ब्याडमिन्टन, फुटबल, भलिबल, क्रिकेट, एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, भारत्तोलन, टेबल–टेनिस, कबड्डी, उसु, जुडो, बास्केटबल, बुद्धिचाल, आईटीएफ तेक्वान्दो, सुटिङ, खो–खो, पौडी, शारीरिक सुगठन, सेपात्राका, जिम्नास्टिक्स, हक्की, साइक्लिङ र आर्चरीका खले समावेश छ । आजदेखि महिला खो–खो र भलिबल खेलाडी छनोट भएको समितिका सदस्य एवं प्रवक्ता दुर्वासा कार्कीले जानकारी दिए ।
FACEBOOK COMMENTS